सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाइ सुरु गर्ने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने निर्णय गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने निर्णय सर्वसाधारण सबैको जानकारी गराएको हो ।
विज्ञप्तिमा उल्लिखित घटनाको कारण आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक श्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरू, कर्मचारीहरू, कानून व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू एवं सर्वसाधारण नागरिकहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरिएको छ ।
साथै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले २४ गते सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरूमा भएको आगजनी, ढुङ्गा मुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरूमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले नागरिकहरूको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्ताबेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको भन्दै नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू पनि करिब करिब नष्ट हुन गएको बताए ।
उनले यस्तो विषम परिस्थितिमा पनि सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकको सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।








