मेरिल्याण्डमा गौरा पर्व अगस्त ३१ आइतबार मनाइँदै

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर मेरिल्याण्ड/ नेपालमा सुदूरपश्चिमको प्रख्यात गौरा पर्व अमेरिकाको मेरिल्याण्डमा अगस्त ३१ तारिख धूमधाम सँग मनाइँदै छ। सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले गौरा पर्वको अवसरमा विषेश कार्यक्रमको आयोजना गर्न लागेको हो।
समाजका अध्यक्ष विक्रम शाहीका अनुसार मेरिल्याण्ड स्थित हिन्दु बुद्ध मन्दिरमा गौरा पर्व मनाइने छ।
गौरा पर्व व्यवस्थापन समितिका मिडिया संयोजक रमेश भट्टराईका अनुसार पर्वका लागि प्रतिमा बनाउने, बिरुँडा अर्थात् क्वाटी बनाउने, मन्दिर प्राङ्गणलाई ध्वजापताले सिङार्ने, गेट निर्माण गर्ने, देउडा खेलको तयारी गर्ने लगायतका कार्यक्रमहरु धमाधम भइरहेका छन् ।
नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौरा विगत ४ वर्ष देखि मेरिल्याण्ड राज्यमा पनि मनाइँदै आएको छ । आफ्नो कला संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा टेवा पुर्याउने उद्देश्यले गौरा पर्व मनाउन थालिएको गौरा व्यवस्थापन समितिका संयोजक तीर्थराज पाण्डेयको भनाई छ ।
आइतबार हुन गइरहेको पर्वमा गौरा देवीको पूजा अनि देउडा खेल हेर्नका लागि मेरिल्याण्ड, डिसी राज्य वरपर रहनुभएका सबै जना नेपालीभाषीहरुलाई नेपाली पोशाकमा उपस्थित भई पर्व सफल पार्न हुन समितिले सबैमा अनुरोध समेत गरेको छ ।