ह्यारिसबर्गमा पञ्चमी पूजा, पाँच हजार बढी सहभागी !

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा बुधवार भएको पञ्चमी पूजामा पाँच हजार भन्दा बढी भक्तालुहरू सहभागी भएको आयोजकले जनाएको छ।
हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को आयोजनामा ह्यारिसबर्गमा रहेको लक्ष्मीनारायण मन्दिरमा बुधवार बिहान ६ बजे देखि दिउसो तीन बजे सम्म पञ्चमी पूजा भएको थियो।

‘हामीले ठ्याक्कै फिंगर क्रस त गरिएन तर पाँच हजार भन्दा बढी भक्त उपस्थिति रहेको भनेर अनुमान लगाइएको छ।‘ ओएचआरसीका सञ्चार संयोजक सिएम निरौलाले समाज टाइम्स सँग भने।
निरौलाले पञ्चमी पूजाका लागि मन्दिरमा आएका भक्तहरूलाई समूह समूह बनाएर व्यवस्था गरिएको बताए।

‘पालो पालो समूह समूह समूह आउँथे। एउटा समूह आउँथ्यो जान्थ्यो, अर्को समूह आउँथ्यो जान्थ्यो।‘ निरौलाले भने।
पूजाका साथ साथै भजन र गुरुहरूले पञ्चमी सँग सम्बन्धित कथा वाचन समेत गरिएको उनले जानकारी दिए।
निरौलाले बुधवारको उपस्थितिलाई ह्यारिसबर्गमा अहिले सम्मकै ठूलो जमघट भएको दाबी गरे।

‘मलाई लाग्छ यो अमेरिकाकै इतिहासमै ठुलो होला यति धेरै एउटा दिनको कार्यक्रममा आका छन् जस्तो लाग्दैन। ओएचआरसीमा त यति मान्छे एक दिनमा कहिले आका छैनन्।‘ उनले भने, ’त्यहाँ के बुझाउन पर्छ भने समूह समूह समूह आउँथे जान्थे अर्को समूह आउँथ्यो अर्को समूह आउँथ्यो।‘