जनसम्पर्क अमेरिकाको भावी सभापति को?

सुरेश कोइराला /
बाल्टिमोर, मेरिल्याण्ड/ नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशनको चर्चा चुलिएको छ।
सन् २०१४ मा टेक्ससमा अधिवेशन भएपछि हरेक ३-३ वर्षमा गरी ४ पटक अधिवेशन हुनु पर्ने थियो। सोही समयमा अधिवेशन गरेको प्रवासी नेपाली मञ्चले नियमित अधिवेशन गर्दै आएको भए पनि नेपालको सबैभन्दा ठूलो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समितिले अमेरिकामा विभिन्न बहानामा हालसम्म अधिवेशन छल्दै आएको छ।
अहिले पनि अधिवेशन हुन्छ नै भनेर ढुक्क हुने स्थिति त छैन तर धेरैपछि पार्टीले मिति नै तोकेर आगामी डिसेम्बर भित्र अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएकोले पनि होला अमेरिकास्थित कांग्रेसीजन जुरमुराएका छन्। धेरैलाई साथीहरूसॅंग गैर आवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न चुनावको हिसाबकिताब चुक्ता गर्ने दाउ पनि छ।
अधिवेशन भइहाले सभापति को बन्ला? बहस सुरु भएको छ। सभापति आनन्द बिष्टसॅंग मिलेर पटक पटक महाधिवेशन प्रतिनिधि बनेर जाने र फर्केर आएपछि विरोध गर्ने अनि समानान्तर समिति समेत खोल्ने कार्य दोहोरिइरह्यो।
पूर्व संयोजक विष्णु सुवेदी सहितले समर्थन गरेर समानान्तर समितिको सभापति भएका धनञ्जय नरसिंह केसी आनन्द बिष्टसॅंग मिलेर पहिला जसरी नै फेरि विष्णु सुवेदीहरू सहित महाधिवेशन प्रतिनिधि बनेर गएपछि धनञ्जय नरसिंहको समितिमा महासचिव रहेका सुभाष घिमिरेले आफ्नै नेतृत्वमा समानान्तर समिति गठन गरे।
यो समितिले विभिन्न च्याप्टरहरू र केन्द्रीय विभागहरू गठन गरेर सक्रियतापूर्वक काम गर्न थाल्यो। सभापति सुभाष घिमिरे नेपाल फर्केपछि भने त्यस समितिको काम पनि सुस्ताएको छ। नेपालमा विभिन्न साहित्यिक, राजनैतिक गतिविधिमा सक्रिय रहेका घिमिरेद्वारा लेखिएको बीपी कोइरालाको जीवनीमा आधारित उपन्यास ‘सान्दाजु’ भर्खरै पुरस्कृत पनि भएको छ।
अधिवेशनको चर्चासॅंगै सभापतिका सम्भावित उम्मेदवारहरूको चर्चाले बजार गर्माएको छ । विष्णु सुवेदी, वेद खरेल, सिपी पौडेल, केशव बराल, मुनीन्द्र नेम्वाङ्ग, धनञ्जय नरसिंह केसी लगायतका नाम चर्चामा छन् ।
अमेरिकामा अधिवेशन हुने निश्चित भएमा घिमिरे अमेरिका आउने र सभापति पदमा उम्मेदवारी दिने चर्चाले आसन्न अधिवेशनलाई थप रोचक बनाएको छ। साहित्यिक, बौद्धिक र लोकप्रिय व्यक्तित्व भएकोले घिमिरे उम्मेदवार बनेमा उनले सजिलै बाजी मार्ने पर्यवेक्षकहरू बताउॅंछन्।