एनआरएनए अमेरिकाको मतदान आइतबार बिहान देखि, निर्वाचन कमिटी बोस्टनमा

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि), अमेरिकाको मतदान आइतबार (अगस्त १७ तारिख) बिहान बाट शुरु हुने भएको छ।
निर्वाचनको दुई दिन अगाडि निर्वाचन कमिटीका सबै सदस्यले सामूहिक राजीनामा दिए पछि अन्यौलता छाएको थियो।
निर्वाचन कमिटीका सदस्यहरूले एनआरएनए अमेरिकाको असहयोग, उम्मेदवारहरू सँगको जुम बैठकमा निर्वाचन कमिटीका अध्यक्ष बासु फुलरा र अन्य सदस्य माथि उम्मेदवारहरू द्वारा गरिएको अभद्र व्यवहारको कारण देखाउँदै राजीनामा दिएका थिए ।
त्यस पछि शुक्रवार एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले सार्वजनिक रुपमा माफी मागेमा थिए। यो बीचमा निर्वाचन समितिका पाँच सदस्य मध्ये टुक रेग्मी जिम्मेवारीमा फर्कन तयार भएका हुन्। अब उनकै नेतृत्वमा निर्वाचन सम्पन्न हुने छ।
एनआरएनए अमेरिकाको गत वर्ष मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न १३ औ साधारण सभाले बासु फुलाराको नेतृत्वमा प्रिय रन्जन दाहाल, विनोद सुवेदी, टुक रेग्मी र खड्ग उप्रेती रहेको समिति गठन गरेको थियो।
एनआरएनए अमेरिकाका अध्यक्ष अर्जनु बन्जाडेले आफ्नो सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार निर्वाचन अगस्त १७ तारिख आइतबार बिहान दश बजे (न्यु योर्क समय) देखि शुरु भई अगस्त १८ गते सोमबार बिहान दश बजे सम्पन हुने छ। पूर्व निर्धारित कार्यक्रम अनुसार शनिवार र आइतबार निर्वाचन हुने कार्यक्रम तय भएको थियो।
यस पटक ‘भोट्ज इंक’ कम्पनीबाट अनलाइन भोटिङ हुने जनाइएको छ। यो कम्पनीको मुख्यालय अमेरिकाको बोस्टन शहरमा रहेको छ। निर्वाचन समितिले भोट्जको मुख्यालयबाट आइतबार र सोमबार काम गर्ने जनाइएको छ।
२४ घण्टा सम्मा जारी रहने निर्वाचनले आगामी दुई वर्षका लागि नेतृत्व चयन गर्ने छ।
निर्वाचन कमिटीले मतदाताहरूको इमेलमा मतपत्र पठाउने जनाएको छ। यसै गरी टेलिफोन नम्बरमा भेरिफिकेशन कोट समेत पठाइने जनाइको छ।
यस निर्वाचनमा अध्यक्षमा एक पदका लागि भानु खरेल, रामहरि अधिकारी, सतेन्द्र साह र राज आचार्य गरी चार जना प्रतिस्पर्धामा रहेका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा एक पदमा सरोज सिग्देल, सन्तोस पहारी र डा परशुराम दाहाल गरी तीन जना उम्मेदवार रहेका छन्।
चार उपाध्यक्षमा १३ जना, एक महिला उपाध्यक्षमा तीन जना उम्मेदवार रहेका छन्। एक युवा उपाध्यक्षमा पनि एक पदमा नवराज न्यौपाने, विजय वाइवा, सुबोध रेग्मी गरी तीन जना उम्मेदवार रहेका छन्।
महासचिवमा एक पदमा अनुप खनाल र मोहन न्यौपाने प्रतिस्पर्धामा रहेका छन्। खनाल भानु खरेल टिम र न्यौपाने साह टिमबाट महासचिवका लागि प्रत्याशी बनेका हुने।
अध्यक्षका अर्का उम्मेदवार रामहरि अधिकारीको टिमबाट महासचिवका उम्मेदवार तेज विनोद पौडेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
सचिवमा एक पदका लागि सुवास बैठा,बासुदेव भट्ट, सुर्य बास्ताकोटी र सुभाष अर्याल चुनावी मैदानमा छन्।
यस्तै कोषाध्यक्षमा महेन्द्र बस्नेत र रवीन्द्र उप्रेती प्रतिस्पर्धामा छन्। ८ बोर्ड अफ डाइरेक्टरका लागि २२ जना प्रतिस्पर्धामा छन्।
निर्वाचन कमिटीका अनुसार यस पटक अमेरिकामा १३ हजार २ सय ८ मतदाता रहेका छन्।
यसै बीच एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेती समुहले यस अगाडि नै निर्वाचन सम्पन्न भएको बताउदै आएको छ।
एनआरएनए अमेरिकाको चुनाव जुलाईमा गर्ने की अगस्तमा भन्ने विवाद भएको थियो। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय कमिटी आइसीसीमा बद्री केसी समुहले विकास उप्रेतीको अध्यक्ष रहेको कमिटीलाई मान्यता दिएको जनाएको छ।