मुस्ताङको प्राकृतिक बास्थानमा भेटियो बैँस हिउँ चितुवा

मनाङ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालका हिमाली भेगमा पाइने गरेको छ । स्वच्छ हिमाली पर्यावरणको सूचक मानिने हिउँ चितुवा हालै मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको प्राकृतिक बास्थानमा देखिएको छ ।
यही साउन ४ गते उक्त प्राकृतिक वासस्थानमा मनाङका कर्मा छिरिङ गुरुङले आफ्नो मोबाइलबाट एक बैँस हिउँ चितुवाको तस्बिर कैद गरेका थिए ।
मानिसको नजरमा बिरलै देखिने भनिएको हिउँ चितुवा हिजोआज सर्वसाधारणले पनि सजिलै देख्न थालेका छन् । नेपालमा यसको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान गरिन्छ ।
जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको वासस्थानमा ह्रास आएकाले लोप हुने चिन्ता बढेको छ ।
बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्ने गरेको छ ।
तस्बिर : कर्मा छिरिङ गुरुङ, मनाङ