सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा उनीहरू शनिबार बिहानको राती १ बजे सिन्धुली तीन पाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जीवन भन्ने नवीन विकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा सिन्धुली जिल्लाको गोलन्जोर स्थित बलेनी भन्ने ठाउँबाट चढी खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिङ हुँदै पोखरा पुगेर त्यहाँको लेक साईडको होटल जननीमा बसेका थिए ।
आइतबार सो होटेलबाट चेक आउट गरी हिँडेका उनीहरूलाई सोमबार प्रहरीले दुई वटा घरबाट फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोज तलास गर्दा सोमबार राति कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना समेत गरी सबै १६ जना फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले गाउँ छाड्नुको कारण अहिलेसम्म खुलाइएको छैन । थप अनुसन्धान जारी छ । १८ जनाको संयुक्त परिवारमध्ये दुई जना यसअघि नै काठमाडौँमा रहेको पुष्टि भइसकेको छ। बाँकी १६ जना भने कुनै जानकारी नदिई गाउँ छाडेर हिँडेपछि प्रहरी र स्थानीय प्रशासनले सोमबार बिहानबाट खोजी थालेका थिए ।
सो परिवारले केही दिनअघि मात्रै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेको थिए। त्यसपछि उनीहरू एक्कासि सम्पर्कविहीन भएका थिए ।


















