अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रूप लिँदै

एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासी विरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रूप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन् ।
लस एन्जलसको डाउन टाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ । जसमा प्रदर्शनकारीहरू, प्रहरी अधिकारीहरू र ट्रम्प प्रशासनले पठाएको नेशनल गार्ड सेनाहरू बीच झडप भए ।
चौथो दिन सोमबार छापा मार्दा एक सय भन्दा बढीलाई गिरफ्तार गरिएको छ । गिरफ्तारपछि आक्रोशित प्रदर्शनकारीहरूले एजेन्टहरूलाई अश्रुग्याँस, फ्ल्यास–ब्याङ ग्रेनेड र ढुङ्गाहरू प्रहार गरेका थिए ।
लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्साम ट्रम्प प्रशासनसँग रुष्ट भएका छन् ।
चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार अमेरिकाले सात सय भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको र त्यसको संख्या बढाउँदै लगेको छ ।
अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको हो ।
(सीसीटीभीप्लस)