नर्थ क्यारोलाइना रालेमा आज नेपाल दिवस मनाइँदै
कृष्णराज खनाल
राले, नर्थ क्यारोलिना । विगतका वर्षहरुझै यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार अर्थात् अप्रिल १९ मा नेपाल दिवस मनाइँदै छ। नर्थ क्यारोलिनास्थित नेपालीहरूको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना एनसीएनसी यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
टाउन अफ मोरिसभिल र एपेक्स तथा वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रुपमा घोषणा गरे अनुरूप सो कार्यक्रम गर्न लागिएको हो ।
नेपाल दिवसको कार्यक्रम नेपालीहरूको बाक्लो उपस्थिति रहेको मोरिसभिलस्थित सेडर फोर्क डिष्ट्रिक पार्कमा हुने जनाइएको छ । एनसीएनसीले जारी गरेको विज्ञप्ति अनुसार, कार्यक्रमको सुरुवात नेपाली विविधता झल्किने साँस्कृतिक झाँकीसहित हुने छ ।
संस्थाकी महासचिव कल्पना भण्डारी अर्यालले दिएको जानकारी अनुसार, नेपाल दिवसमा नेपाली मूलका र नेपाललाई माया गर्ने समुदायका झण्डै दुइ हजार मानिस सहभागी हुनेछन् । सो अवसरमा नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान, नेपाली नृत्य र गीत सहितको रमाइलो कार्यक्रम दिनभर सञ्चालन हुनेछ । यस अतिरिक्त नेपाली खाद्य परिकार र नेपाली कला र संस्कृति झल्कने खालका स्टलहरु पनि राखिनेछ ।
संस्थाका अध्यक्ष डा. विकास शाक्यका अनुसार, प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउन पाउनु आफैमा गर्वको कुरा भएको बताउँदै यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको साँस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्धत पुग्ने बताए।
डा. शाक्यले विदेशिएका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो मौलिक परम्परा र स्वदेशसँग जोडिराख्न यसले ठूलो योगदान पुर्याउँछ भन्दै सहभागी सबैलाई नेपाली भेषभूषासहित उपस्थित हुन पनि आव्हान गरे ।