भव्यताका साथ रालेमा नेपाल दिवस सम्पन्न

कृष्णराज खनाल
राले, नर्थ क्यारोलिना । विगतका वर्षहरूझैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार अर्थात् अप्रिल १९ मा नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीहरूको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को आयोजनामा सम्पन्न नवौँ नेपाल दिवसमा करिब दुई हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
हामी नेपालबाट आउने मानिसहरूको लागि नेपाल बाहिर पनि नेपाल देख्ने एक अवसर हो, मलाई यो कार्यक्रम देख्दा निकै खुसी लागेको छ केही समय अघि नेपालबाट आएका रामचन्द्र लम्सालले भने ।
कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट भएको थियो ।
कार्यक्रममा यहाँ उपस्थित केरी, मोरिसभिल र एपेक्स नगरका प्रतिनिधिहरूले नेपाल र नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा व्यक्त गरे। उनीहरुले नेपाली नयाँ वर्षको शुभकामना दिँदै नेपालीहरूको सबै क्षेत्रमा उपस्थिति रहेको बताउँदै यी क्षेत्रको सामाजिक, शैक्षिक र सांस्कृतिक प्रवर्धन र उन्नयनमा नेपालीहरूको योगदान रहेको जानकारी दिए। उनीहरुले नेपालीहरूले पहिलो र दोस्रो युद्धमा समेत आफ्नो वीरता देखाएर अमेरिकालाई सहयोग गरेको स्मरण पनि गरेका थिए।
यसरी आफ्नो मन्तव्य दिनेमा नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद मारिया सेरभानिया, कमिस्नर सेरिल स्टलिंस्स, केरी नगर प्रतिनिधि सारिका वंशल, नर्थ क्यारोलिनाकी अधिकारकर्मी टुन्या स्मिथ, मोरिसभिल टाउनका स्टिभ राव र टिजे काउली, सतीश गारिमेला, लिज जोन्सन र एनी रोवोटी थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका उपप्रमुख शरदराज अरनले यस्ता कार्यक्रमले आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोड्न टेवा पुग्ने भएकोले यो महत्त्वपूर्ण छ भने ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नवौँ नेपाल दिवस समारोह समितिका अध्यक्ष विक्रम गौतमले बालबालिकाहरूलाई नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै हाल यो क्षेत्रमा करिब १० हजार नेपाली बसोबास गरेको जानकारी दिए ।
कार्यक्रममा मिस नेपाल उत्तर अमेरिकाको उपाधि विजेता अन्ना कोइरालालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
टाउन अफ मोरिसभिल र एपेक्स तथा वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रुपमा मनाउन घोषणा गरे अनुरूप प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै आइएको छ । शनिवार आयोजित कार्यक्रममा टाउन अफ केरीले पनि नेपाल दिवसलाई अनुमोदन गरेको छ ।

नेपाल दिवसको कार्यक्रम नेपालीहरूको बाक्लो उपस्थिति रहेको मोरिसभिलस्थित पार्कमा सम्पन्न भएको थियो । एनसीएनसीका अनुसार, कार्यक्रमको सुरुवात नेपाली विविधता झल्किने सांस्कृतिक झाँकीसहित सहभागीहरूले पार्कको एक फन्को लगाएका थिए । संस्थाकी महासचिव एवं कार्यक्रमकी सञ्चालिका कल्पना भण्डारी अर्यालले दिएको जानकारी अनुसार, नेपाल दिवसमा नेपाली मूलका र नेपाललाई माया गर्ने समुदायका झन्डै दुई हजार मानिस सहभागी भएका थिए ।
सो अवसरमा एक आपसमा नेपाली नयाँ वर्ष २०८२ को को शुभकामना आदान प्रदान, करिब तीन दर्जन नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य र गीत सहितको रमाइलो कार्यक्रम दिनभर सञ्चालन भएको थियो । ससाना भाइबहिनीहरूले यो नेपाली शिर उचाली, जून त लाग्यो ताराले, डम्फुमा सेलो, प्राणभन्दा प्यारो, रुकुम मैकोट, पानी पर्यो असिना झर्यो, दर्पण छाया…जस्ता गीतमा आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए ।
त्यसै गरी दाइ भाइ ब्यान्डले यो तिम्रो नेपाल…., तालको पानी…यो मन त मेरो नेपाली हो…., वरिपरि गाउँभरि हल्ला छ….तथा डिजे म्याक्सले तिम्रो मायाले ज्युँदै मार्यो…उत्ताउली मोरीले…तालको पानी माछीले खानी…जस्ता चर्चित गीत संगीत पस्केर दर्शकहरूलाई थप तताएको थियो ।
सो अवसरमा घिन्ताङ ब्यान्डले पनि आफ्नो प्रस्तुति दिएको थियो ।
यस अतिरिक्त नेपाली खाद्य परिकार र नेपाली कला र संस्कृति झल्कने खालका स्टलहरू पनि राखिएको थियो ।
आयोजकहरूले सो कार्यक्रमको सफलताका लागि करिब एक सय ३५ परिवारबाट चन्दा रकम प्राप्त गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष डा. विकास शाक्यले सबै उपस्थित महानुभावलाई धन्यवाद ज्ञापन गर्दै प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउन पाउनु आफैमा गर्वको कुरा भएको र यस कार्यक्रमले अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्दत पुग्छ भने ।
डा. शाक्यले समाजका सबै तह र तप्काको सहयोगको खुलेर प्रशंसा पनि गरे। कार्यक्रममा ससाना बालबालिकादेखि बृद्धबृद्धाहरु नेपाली भादगाउँले टोपी, नेपाल, हिमाल र नेपाली झल्काउने भेसभुसासहित उपस्थित भएका थिए ।
सो कार्यक्रम महासचिव कल्पना भण्डारी र सदस्य निभिता शर्माले सञ्चालन गरेका थिए।