इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरू, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह
इलाम । नयाँ वर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम् कूटनीतिज्ञहरू इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरू यस पटक इलाम पुगेका हुन् ।
आइतबार इलामको कन्याम पुगेर सांस्कृतिक पहिरनसहित घोडा सवार गरेका उनीहरू सोमबार अन्तु भ्रमणमा छन् । सोमबार बिहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा ढुङ्गा सयर पनि गरे ।
ढुङ्गा सयरपछि चियावारिमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरञ्जन समेत लिएका छन् । डाँडामा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरुले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसहित सबै राजदूतहरूले चिया बगान छिरेर आधा घण्टासम्म चिया टिपेका थिए । ‘सबै राजदूतहरूले फरक अनुभव लिए । नेपालीहरूले चिया टिप्ने शैली उनीहरुले बुझ्ने मौका पाए । चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने ।
सूर्योदयका नगर प्रमुख रण बहादुर राईले राजदूतहरूले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरूलाई नै कोशेली स्वरूप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए ।
अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्तर्गत अन्तुमै चिया टेष्टिङ पनि गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार योजना फिक्कलले विभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो ।
नेपाली चियाका विभिन्न जात चखाएर नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखिएको सूर्योदय टि प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।
चिया टेष्टिङसंगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाले जानकारी दिए ।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदूत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन् ।
परराष्ट्रमन्त्री डा.देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदूत सहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् ।
भ्रमण अन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतहरूलाई ढुङ्गा सयर गराउनुका साथै माछा झिक्ने (फिसिङ) गरिएको छ ।
मन्त्रालयले वार्षिक रुपमा विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो ।
नगरले राजदूतको स्वागतमा विभिन्न सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाँक्री नाचले स्वागत गरिएको थियो ।
भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया , फ्रान्स, इजरायल, जापान मलेसिया, श्रीलंका, बङ्गलादेश र इसीमोडका राजदूत सहभागी छन् । टोली वैशाख २ गतेसम्म इलाममा नै रहनेछन् ।
कूटनीतिज्ञहरू नेपालको पर्यटनका ‘राजदूत’ बन्नुपर्छ : मन्त्री राणा
भ्रमणका क्रममा राखिएको एक समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताइन् । उनले नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण भएकाले मुलुकको विकास र समृद्धिका आधार रहेको पनि औँल्याइन् ।
मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै इलामको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गरिन् । इलाम क्षेत्रको महत्त्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटै फाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् ।
साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका ‘राजदूत’ बन्न पनि आग्रह गरिन् ।