भुटान : चरम भ्रष्टाचार र विभेदको दलदलमा

Getting your Trinity Audio player ready...
|
गंगा लामिटारे
कोलम्बस, ओहायो/ भुटानमा जति भ्रष्टाचार भएको छ र हुँदैछ त्यो अन्य कुनै पनि देशमा नहोला। किन भने अरू देशहरूमा मिडियाहरू स्वतन्त्र र निष्पक्ष भएकोले त्यस्ता समाचारहरू प्रकाशमा आउँछन् तर भुटानमा कहिले पनि आउँदैनन् । भुटानमा हुने भ्रष्टाचार,अनियमितता र राजनैतिक घटना सम्बन्धी समाचारहरू कहिले बाहिर ल्याइँदैन ।
भुटानमा जे जति सञ्चारका माध्यमहरू छन् ती सबै सरकारका नियन्त्रण र कब्जामा छन् । त्यसैले अपराधका घटनाहरू लुकाइन्छ ! थाह पाई हाल्यो भने राज्यले छानबिन नै गर्दैन । कसैले भ्रष्टाचारको कुरा गरी हाल्यो भने त्यसले उल्टै जेल जानुपर्छ र जीवनभर सडिनुपर्छ । वास्तवमा १९९० को विद्रोह पनि भ्रष्टाचार र चरम बेथितिकै जगमा टेकेर जन्मिएको थियो । त्यसमा राजाले भ्रष्टाचारीहरूलाई जोगाउन ल्होत्सम्पाहरूको एउटा ठुलो हिस्सा देशबाट लखेटे । यसो भन्दा यहाँहरूलाई आश्चर्य लाग्न सक्छ । तर सत्य पनि यही हो ।
सन् १९८५ सम्म देशको प्रशासन विकेन्द्रीकृत प्रणालीमा थियो । राजाले स्थानीय शासन व्यवस्था सञ्चालनको जिम्मा जिल्लाहरूलाई दिएका थिए । विकास,निर्माणका योजनाहरूको जिम्मेवारी सबै जिल्लालाई सुम्पिएका थिए । लामो समयसम्म चलेको त्यस व्यवस्थामा जोङ्दाहरूले व्यापक भ्रष्टाचार र अनियमितता गरेको राजाले थाह पाए । यसरी देश चुर्लुम्म भ्रष्टाचारमा डुबेको बुझेपछि राजाले राजपरिषद्का सल्लाकार टेक नाथ रिजालको संयोजनमा एउटा भ्रष्टाचार छानबिन आयोग गठन गरेर छानबिन गर्ने आदेश दिएका थिए।
रिजाल संयोजक रहेको आयोगले लामो समयसम्म छानबिन गऱ्यो । छानबिनको क्रममा जोङ्खाहरू मात्र होइन राजपरिवार कै शक्तिशाली सदस्यहरूको पनि भ्रष्टाचारमा गहिरो संलग्न रहेको पत्ता लाग्यो ।
तत्कालीन उपगृहमन्त्री दागोछिरिङका भाइ त्यस बेला थिम्पु जिल्लाका जोङदा थिए । उनको नाम पनि दागो छिरिङ नै थियो । उनले करोड़ौं रूपिया अपचलन र दुरुपयोग गरेको आयोगले पत्ता लगायो । राजाको सुझावमा अरूहरूलाई जस्तै तिनलाई पनि जेलमा हालिएको थियो । लगभग १७? जिल्लाका जोङ्खाहरू भ्रष्टाचार र अनियमितताको कारण जेल चलान भइसकेका थिए । जो कोहीलाई पनि नछोड्नु भन्ने राजाको हुकुम थियो । चरम भ्रष्टाचारको कारण देशमा अशान्ति र त्रासको सृजना व्यापक रूपमा फैलिँदै थियो ।
राजाको निर्देशन पाएको आयोगले सतर्कताका साथ छानबिन कार्य तीव्र गर्दै गयो । जब आयोगले भुटानका बैंक र आर्थिक संस्थानहरूमा छानबिन गर्न थाल्यो अनि राजपरिवारभित्रका शक्तिशाली भ्रष्टाचारी र बिचौलियाहरू अतालिन थाले र भित्रभित्रै रिजाल विरुद्ध विभिन्न षड्यन्त्रका तानाबाना बुन्न थाले । निस्वार्थ देश सेवा र राज भक्तिको क्षमता प्रदर्शन गरेर रिजालले राजाको विश्वास जितेका थिए । रिजालको देश प्रेम र राष्ट्रप्रतिको अटल समर्पण देखेर राजा अत्यन्तै प्रभावित भएका थिए । अन्य केही अफिसरहरू सँगै अङ्ग्रेजी सिक्न ६ महिनाका लागि राजाले रिजाललाई अष्ट्रेलिया पनि पठाएका थिए । रिजालको बढ्दो लोकप्रियता र राजासँगको सामिप्यताले भ्रष्ट र बिचौलियाहरूको निद्रा हराउँदै जान थालेको थियो ।
रिजाललाई देखि नसहने मध्येका एक थिए उपगृहमन्त्री दागो छिरिङ । उनी रिजालका विरुद्ध कम्मर कसेर लागे । रिजाललाई फसाउन दरबारका भ्रष्टहरूसँग मिलेर अनेक षड्यन्त्रका तानाबाना बुन्न थाले । दागो छिरिङले रिजालका कमीकमजोरी खोज्न र त्यसलाई प्रमाणित गर्ने अभियानमा एउटा जासुसहरूको समूह नै परिचालित गरेका थिए । शक्ति र सत्ताको उन्माद चढेका दागोले यो षड्यन्त्र राजपरिवारकै भ्रष्ट्राचारी सदस्यहरूसँग मिलेर गर्दै थिए । ल्होछम्पाविरूद्धको खेल यहीँबाट प्रारम्भ भएको रिजालले आफ्नो पुस्तक निर्वासनमा उल्लेख गरेका छन् ।
आयोगले छानबिन गर्दै जाँदा राजपरिवारकै शक्तिशाली सदस्यहरू करोडौँको भ्रष्टाचार र अनियमिततामा मुछिएको पाइयो। राजसंथाको आडमा भएको भ्रष्टाचारले देश नै गम्भीर दलदलमा फसिसकेको थियो । अयोगले राजालाई प्रतिवेदन बुझाउने तयारी गर्दै थियो । दिल्लीबाट मगाइएको लेखा परीक्षक र केही विज्ञहरूको समूहले प्रतिवेदन अन्तिम चरणमा पुर्याएको थियो । राजालाई प्रतिवेदन बुझाउन रिजाल पनि हतारिइरहेका थिए । तर त्यस बेला राजा थिम्पुबाहिर थिए । रिजाल राजाको पर्खाइमा थिए । कुनै एउटा अदृश्य शक्तिकेन्द्र आफूविरूद्ध सक्रिय हुँदैछ भन्ने रिजालले थाह नपाएका पनि होईन्न् । तर केही भइगयो भने मेरा पछाडि राजा छन् भन्ने रिजाललाई ठूलो विश्वास थियो । राजाले भ्रष्टाचार छानबिन गर्नु भन्ने चिठी दिएका थिएनन् । मौखिक आदेश मात्र दिएका थिए । प्राय त्यस बेला राज्य सञ्चालनका लागि वैधानिक न कुनै नियम थियो न कुनै कानून नै । जे थ्यो त्यो सबै राजाको इच्छामा निर्भर थियो । राजाको सदिच्छा नै देशको संविधान थियो ।
त्यस बेला दक्षिण भुटानमा कडाइकासाथ जनगणना हुँदै थियो । जनगणना टोली र स्थानीय प्रशासनको आतङ्कबाट दक्षिणमा ताण्डव नै मच्चिएको थियो । एउटै परिवारका सदस्यहरूलाई वर्ग-वर्गमा विभाजित गरेर पारिवारिक एकतालाई विभिन्न र ध्वस्त गर्दै थियो । त्यसमा पनि ७ र ४ वर्गमा पर्नेले तुरुन्त देश छोड्नु पर्ने जस्ता धाक र धम्कीहरूले जनता त्रसित र भयभीत थिए । चिराङ छोकानामा जनगणनाकै कारण एउटी महिलाले आत्महत्या गर्न बाध्य भएको हल्ला थिम्पुसम्म आइपुग्यो । थिम्पुका ल्होत्साम्पा हाकिमहरूले जनप्रतिनिधिको हैसियतले तपाईँले जनगणनाका बारेमा राजालाई अपिल गर्नुपर्छ भनेर रिजाललाई दबाब गरे ।
उनीहरूले अपिल पत्रको ड्राफ्ट तयार गरेर रिजाललाई दिएका थिए। प्रतिवेदन बुझाउने कार्यलाई केही समयका लागि स्थगित राखेर रिजाल वर्तमान जनसङ्ख्याबाट उत्पन्न समस्याप्रति केन्द्रित भए । जनताको समस्यालाई प्राथमिकतामा राखेर उनले राजालाई अपिल गर्ने निर्णय गरे सन् १९८८ अप्रिल ९ का दिन उनले दरबारमा गएर राजालाई अपिल पनि चढाए । अपिल प्राप्त गरेपछि राजाले त्यसो हो भने म तुरुन्त चिराङ गएर घटनाको जानकारी लिन्छु भन्ने रिजाललाई आश्वासन दिएर राजा चिराङतिर लागे ।
राजा चिराङ गएकै बेला गाउँमा जिल्ला प्रशासन र जनगणना टोलीले गरेका विभेद र अन्यायहरूको फेहरिस्त लिएर ल्होत्साम्पाहरूको घुइँचो रिजालको वासस्थानमा बढ्दै जान थाल्यो । ३ दिनपछि राजा चिराङबाट फर्के । दुर्भाग्यवश राजदरबारका तिनै भ्रष्ट सदस्यहरूले दार्जिलिङका सुवास घिसिङसँग मिलेर भुटानमा रिजालले विद्रोह गर्ने तरखर गर्दै गरेको भन्ने राजालाई पोल लगाए । त्यस बेला गोरखाल्याण्डको आन्दोलन उचाइमा पुगेको थियो ।
त्यसको नेतृत्व सुवास घिसिङले गरेका थिए । यतिसम्म कि रिजालको घरमा आउने गाउँलेहरूको त्यस भीडलाई रिजालले भित्रभित्रै विद्रोहको योजना गर्दै गरेको भनी राजाको कान भरे । रिजालको घरमा हुने त्यो गाउँलेहरूको भीडको तस्बिर समेत खिचेर राजालाई देखाएर तिनीहरूले रिजाल विरुद्ध भड्काए । त्यसपछि स्थिति झन् जटिल हुँदै गयो ।
बिचौलिया र भ्रष्टहरू सफल हुँदै गए । जसरी पनि छानबिनको प्रतिवेदन राजासमक्ष नपुगोस् भन्ने चाहन्थे उनीहरू । यसरी दक्षिणका जनतालाई रिजालले देश र राजाविरुद्ध भडकाउँदैछ भन्ने कपोलकल्पित आरोपहरू रिजाल विरुद्ध लगाउँदै गए ।
रिजाल विरुद्ध भए नभएका पोल हाल्ने अरू कोही नभएर राजाका आफ्नै दिदी भिनाजुहरू थिए । फुपू फुपाजुहरू थिए । मामा माइजूहरू थिए । देशको विकास,निर्माणको ठेक्का-पट्टा पाएका राजाकै ससुरा र साला साली थिए । यतिसम्म कि राजाकै काका त्यस बेलाका गृहमन्त्री तेङ्गे ल्याम्पो अथवा पारोपेन्लोप पनि थिए । एकातिर उनी पर्दापछाडि बसेर सरकारले लागु गरेका नीतिहरू ठिक छैन , युग स्वाउँदो छैन , यस नीतिलाई नमान्नु भनेर ल्होत्सम्पाहरूलाई उक्साउँथे भने अर्कोतिर दार्जिलिङसँग मिलेर ल्होत्सम्पाहरूले दक्षिण भुटानलाई गोरखा ल्यान्डमा गाभ्ने योजना गर्दैछन् । त्यसको नेतृत्व रिजालले गर्दैछ भनेर राजालाई भडकाउँन सम्म भड्काए ।
राज्यको यस्तो भयाङ्कर षडयन्त्रकारी खेलको शिकार भए रिजाल । हुन त एकलो रिजालले के पो गर्न सक्थे र ? जब राज्य नै खनिएपछि जनप्रतिनिधि भए पनि एकलो रिजालले केही गर्न सक्ने स्थिति नै थिएन । राजा र बिचौलियाहरू मिलेर रिजाललाई घरको न घाटको मात्र बनाएनन् बलिको बोको नै बनाए ।
राजालाई उक्साउने पर्दापछिको त्यो भ्रष्ट र बिचौलियाहरूको समूह एक मत भएर रिजाल विरुद्ध खनिएको थाह पाएपछि राजाले मनस्थिति बदले । भ्रष्टाचारभन्दा पनि ठूलो चुनौती र खतरा आफ्नै सिंहासनमाथि आइलागेको महसुस गरे । खागाको गोलामा हात हालेर सिंहासनमाथि खतरा मोल्नुभन्दा बरु एउटा रिजाललाई नै फसाउनु उपयुक्त ठाने । साप पनि मर्ने र लाठी पनि नभाँचिने नीतिको प्रयोग रिजालमाथि गर्ने निर्णयमा पुगे राजा । भ्रष्ट र बिचौलियाहरूको कारबाही गरेर ३ पुस्तादेखि रजगज गर्दै आएको विरासत गुमाउनुभन्दा बरु रिजाललाई फेक्ने सोचमा पुगे राजा । यदि एउटा रिजाललाई कारबाही गर्दा आफ्नो सत्ता र शक्ति जोगिन्छ भने त्यसको उपयोग किन नगर्ने ? हरेक शासकले गर्ने पनि त्यही हो ।
त्योभन्दा पनि अर्को महत्त्वपूर्ण कुरो के छ भने राज्यको वार्षिक कुल बजेटको ६० प्रतिशत राजपरिवारकै भरण पोषणमा खर्च हुने गर्छ । त्यसको न हिसाब किताब नै हुन्छ न लेखा परीक्षण नै गरिन्छ । त्यसमा कसैले पनि प्रश्न गर्ने अधिकार छैन । रहेको २५ प्रतिशत रकम लोकसेवा,कर्मचारीहरूको तलब,भत्ता र वृत्ति भरणमा खर्च हुने गर्छ भने १५ प्रतिशत सुरक्षाका लागि उपलब्ध गराइन्छ । देशको विकास,निर्माण र जनताका लागि बजेट शून्य बराबर छ । यसरी पर्याप्त अर्थको अभावमा वर्तमान सरकारलाई देश चलाउनका लागि गम्भीर सङ्कट उत्पन्न भएको छ । त्यसको प्रमाण भुटानका वर्तमान प्रधानमन्त्री विदेशीहरूका अघि लम्पसार परिरहेका परिदृश्यहरू हुन्।
अन्तमा आयोगको प्रतिवेदन हेरेर भ्रष्ट र बिचौलियाहरूलाई कारबाही गर्नुको सट्टा राजाले रिजाललाई उल्टै पक्रेर जेलमा हाल्न आदेश गरे । रिजाललाई जेलमा हालेकै केही समयमा उपगृहमन्त्री दागो छिरिङ पुलिसको जत्था लिएर रिजालको घरमा गए । छापामार शैलीमा उनीहरूले रिजालको घर खान तलासी गरे । राजालाई बुझाउन भनी तयार गरेका केही कागजपत्रका साथै छानबिन आयोगको प्रतिवेदनसमेत जफत गरी दागोले लिएर गए ।
रिजालले सम्झिए राजाको ममाथि कृपा हुनेछ । मलाई अवश्य भेट दिनेछन् । भेटमा भ्रष्टाचारको फायल राजासमक्ष खोल्छु । पर्दापछि बसेर देश लुट्नेहरू को को रहेछन् भनेर राजालाई देखाउनेछु भन्दै भुट्भुटिदै रिजाल १० वर्षसम्म जेलमा सडिरहे । दागोछिरिङ लगायत सेना र पुलिस प्रमुखहरूसँग पटक पटक राजालाई भेट्ने अनुमति मागेँ तर कसैले मेरो न याचना नै सुन्यो न राजालाई भेट्ने अनुमति नै दिए भन्ने गुनासो रिजालले निर्वासनमा व्यक्त गरेका छन् ।
रिजालको माथिको भनाई बाट के स्पष्ट हुन्छ भने ७ लाख मात्र जनसंख्या भएको देशमा के हुँदैछ भन्ने एउटा राजालाई थाह नहुने कुरै हुँदैन । राजाको इसारा नपाएसम्म न कुकुर नै भुक्न सक्छ न रूखको पातसम्म नै हल्लिन सक्छ भुटानमा । राजाले साम,दाम र दण्ड भेदको उपयोग गरेर मलाई बलिको बोको बनाएरै छोडे भन्ने गुनासो रिजालले गरेका छन् ।
एक लाख ल्होत्साम्पा नागरिकलाई देशबाट किन निकालिँदै छ भन्ने अर्को एउटा महत्त्वपूर्ण खुलासा रिजालले निर्वासनमा गरेका छन् । यो घटना आफू जेल पर्नुभन्दा केही दिन अघिको उनले भनेका छन् ।
एक दिन थिम्पुस्थित भारतीय राजदूतावासका एक उच्च अधिकारीले रिजालको परिवारलाई डिनरका लागि बोलाएका थिए । त्यति बेला रिजाललाई कुनै पनि विदेशी वा कूटनैतिक नियोगका कर्मचारीहरूसँगको भेटघाटमा दागोछिरिङले मौखिक रोक लगाएका थिए । मलाई कसैसँग भेट्न अनुमति छैन अहिले भनेर रिजालले ती दूतावासका मित्रलाई अवगत गराए । तर रिजाल साहब, मेरो यो राजनैतिक निम्तो होइन बिल्कुलै निजी एवं पारिवारिक निमन्त्रणा हो हजुरलाई भनेर ती कर्मचारीले पटक पटक आग्रह गरेपछि म सपरिवार डिनरका लागि तिनका घरमा गएँ । हाम्रो खान-पान राम्रैसँग भयो । एक आपसमा पारिवारिक गफहरू भए । कुराकुरैमा ती कर्मचारीले एकलाख दक्षिण भुटानी नागरिकलाई देशबाट निकाल्ने भुटान सरकारले योजना गर्दै गरेको सुटुक्क मलाई सुनाए ।
पहिला त मलाई विश्वासै लागेन । तर उनले एक साता अघि मात्र उपगृहमन्त्री दागो छिरिङ र भारतीय राजदूतबिच भएको एउटा संझौंता पत्रको ड्राफ्ट पनि देखाए । जुन पत्र पढेपछि म त छाँगाबाट खसेजस्तो भएँ । त्यहाँ लेखिएको थियो, देशमा जनसंख्याको सन्तुलन कायम राख्नका लागि भुटान सरकारले एक लाख ल्होछम्पालाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । यसमा भारत सरकारका तर्फबाट हामीलाई सहयोग र समर्थन चाहियो भन्ने उल्लेख गरिएको थियो ।
दार्जिलिङको मुमेण्टबाट दक्षिण भुटान गम्भीर प्रभावित हुँदैछ । त्यसमा पनि संसारमा जुन प्रजातन्त्रको लहर चल्दै छ त्यसको असर भुटानमा पनि पर्ने देखिँदै छ । त्यो प्रभाव पर्नुभन्दा पहिले जसरी पनि एकलाख ल्होत्साम्पालाई देशबाट निकाल्नु पर्ने भएको छ भन्ने पढ्ने बित्तिकै मेरो पैतालामुनिको माटो खस्किँदै गयो । रिङगाटाले टाउको फनफनी घुम्यो । चारैतिर अँध्यारो छायो । आफ्नो निहित स्वार्थका लागि परिश्रमी नागरिकप्रति राज्यले यस्तो विभेद र धोका दिन्छ होला भन्ने मैले कहिले सोचेको थिएन भनी रिजालले उल्लेख गरेका छन् ।
सन् १९८५मा सञ्चालित जनगणना टोलीले ल्होत्साम्पाको संख्या देशको कुल जनसंख्या कै ४५ प्रतिशत रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसपछि सरकार अतालियो र ल्होछाम्पा विरुद्ध अनेक जाल जेल र षडयन्त्र रच्न थाल्यो । जसरी पनि एक लाख मानिसलाई देशबाट निष्कासन गर्ने अभियानमा कम्मर कसेर लाग्यो । अनि दक्षिण भुटानीलाई लक्षित गरी विभिन्न विभेदकारी कानून र अध्यादेशहरू ल्याएर ल्होत्छाम्पाहरूमाथि एकपछि अर्को उत्पीडन र प्रताडनाका शृँखालाहरू प्रारम्भ गर्यो ।
रिजालको माथिको आशयबाट के स्पष्ट हुन्छ भने १९९० को विद्रोह जनताले होइन राज्यले गराएको हो । राज्यले जनतालाई विद्रोह गर्न विवश पारिएको थियो । कारणै विना एक लाखभन्दा बढी नागरिकलाई देश निकाला गर्नु चानचुने कुरा थिएन । त्यो योजना भुटान एकलैले मात्र गरेको पनि होइन । भारतीय संलग्नताविना यति ठुलो नागरिक विस्थापनको योजना सफल हुने नै थिएन । एकलाख ल्होत्साम्पाको विस्थापन कार्यमा भारतीय सरकारको के कस्तो संलग्नता र सहयोग थियो भन्ने तत्कालीन भारती विदेश मन्त्री प्रणव मुकुर्जीले १९९७ मा शरणार्थीको प्रतिनिधि मण्डलाई दिएको वक्तव्यबाट पनि छर्लङ्ग र स्पष्ट हुन्छ ।
उनले भनेका थिए,भुटानले जनसंख्याको सन्तुलन मिलाउन कै लागि एकलाख ल्होछाम्पालाई देश निकाला गरेको हो र त्यसमा हामीले एक असल छिमेकीको नाताले सहयोग गरेको हो । यदि तिमीहरूले देश फिर्ने नै चाहेको हो भने हुलका हुल हल्ला गरेर होइन चुपचाप एक एक गरेर फिरे भइगो नि । के को तामझाम र होहल्ला गर्दै हिँड्छौ भनेर साफी हप्काएका थिए ।
त्यति मात्र होइन सुरूमा भुटानका आन्दोलनकारीहरूलाई आफ्नै भूमि गरगण्डामा आश्रय दिने भारतले जब भुटानमा भएका प्रदर्शनीपछि ल्होत्छाम्पाहरूलाई पुलिस लगाएर मेची नदी तारेर नेपालतिर धकेल्नुले नै उसको ल्होत्छाम्पाप्रतिको दोधारे नीति स्पष्ट भयो ।
भुटान सरकारले दक्षिणका नागरिकलाई खेदाउन विभिन्न किसिमका जन घाती प्रयोग धेरै अघिदेखि परिचालन गर्दै आएको थियो । जनता हल्लिएका थिएन् । एक राष्ट्र एक जनता नीति लागु गर्यो । त्यसबाट पनि जनता डगमगाएनन् । भारतीय सीमाबाट ६ किलोमिटर भित्रसम्म जहाँ नेपाली भाषी नागरिकको घनत्व छ त्यही क्षेत्रमा हरियाली पट्टी लगाउने पोलेसी ल्यायो सरकारले । जनताले त्यसलाई पनि टेर पुच्छर लाएनन् । त्यसै गरी अन्तर्जातीय विवाह अधिनियम ल्यायो । अन्तर्जातीय विवाह गर्ने जोडीलाई एक हल गोरु ४ एकड जमिनका साथै १० हजार नगद दिने प्रलोभनको कानुन ल्यायो सरकारले त्यसलाई पनि ल्होत्साम्पाहरूले सुनेको नसुनै गरे ।
कसै गर्दा पनि हल्लाउन नसकेपछि सन् १९ ५८ लाई आधार वर्ष मानेर १९८५ मा नागरिक अधिनियम जारी गर्यो । एक नम्बर नागरिक बन्नका लागि ५८ सालको भुटानमा बसोबासो गरेको प्रमाण प्रस्तुत गर्नु पर्ने भयो । १९५८ को प्रमाण देखाउन नसक्ने जतिलाई एकदेखि ७ वर्गमा विभाजित गरेर परिवारमै फुट र कलङको सृजना गर्यो राज्यले । बसाइँ सर्दा हरायो, घरमा आगो लाग्दा जलेर नष्ट भयो भन्दा पनि सरकारले सुनेन ।
जनगणना टोलीले नागरिकलाई ज़बरदस्ती अनागरिक बनायो । त्यसबाट पनि जनता विचलित भएनन् । सहेरै बसिरहे ।
ल्होत्छम्पाविरूद्धका सबै प्रयोगहरू असफल भएपछि सरकारले वर्षौँदेखि दक्षिणका स्कुलमा पढाउँदै ल्याएको नेपाली भाषामाथि प्रतिबन्ध लायो र नेपालीका पाठ्यपुस्तक सबै जलायो । ल्होछाम्पा समुदायको सांस्कृतिक भेष,भूषा, संस्कार प्रचलनमाथि प्रतिबन्ध लगायो ।
त्यति मात्र होइन दक्षिण भुटानका प्रचलित गाउँ,ठाउँ,खोला नाला र देवी देउरालीका नामसमेत परिवर्तन गरेर जोङ्खाकरण गर्यो । यतिसम्म कि विवाह, व्रर्तवन्ध धार्मिक अनुष्ठानहरूमा मात्र होइन पुरोहित,पण्डित र बिहेका बेहुला बेहुलीसमेतले सांस्कृतिक पहिरनको अधिकारबाट बञ्चित हुनुपर्यो । सरकारी सेवाहरूमा नेपालीको सट्टा जोङ्खा भाषा बोल्न र लेख्न अनिवार्य गरियो. ।
राष्ट्रिय पोशाक बक्खु र तेगो नलाएको खण्डमा एक महिना जेल र हजार रुपियाँ बराबरको आर्थिक दण्डसमेत तिर्न बाध्य पारियो । सरकारको नेपाली भाषा र पोशाक माथिको अतिक्रमणपछि दक्षिणीहरूको बोली बन्द भयो र सासै रोकियो । एउटा जीवत् जातिको पहिचान सिङ र पुच्छर बिनाको गाई जस्तै बन्न पुगेपछि मात्र ल्होत्साम्पाहरूको तेस्रो नेत्र खुल्यो । उनीहरू सलबलाउन थाले ।
सर्वाङ्ग नाङ्गिएको अनुभूत गर्न थाले । त्यसपछि मात्र सङ्गठित भएर अधिकार पुनर्बहालीको माग गर्दै जनता प्रदर्शनमा उत्रिए । सरकार यही चाहन्थ्यो । सरकारका खिलाफमा उत्रिए देशद्रोही र आतङ्ककारीको अभियोग लगाएर देशबाट निष्कासन गरौँ भन्ने पूर्ण तयारीमा थियो सरकार । १९९० को सेप्टेम्बर १९ देखि अक्टुरबर १०सम्म दक्षिणी जिल्लाहरूमा मानवअधिकार र प्रजातन्त्रको स्थापनाको माग गर्दै प्रदर्शनीहरू भए ।
ती प्रदर्शन राजाविरुद्ध थिएनन् मात्र देशमा भइरहेका विभेद र बेतिथि विरुद्ध थिए । तर जनताको मनोभावना बुझ्नुको सट्टा सरकार सशस्त्र- लिएर जनताविरुद्ध उत्रियो । दक्षिणका सबै गाउँमा सेनाको मनोमानी शासन चल्यो ५ वर्षसम्म । दक्षिणका स्कुल,कलेज र सरकारी संस्थानहरू सेनाको ब्यारेकमा परिणत भए । सशस्त्र सेनामय भयो दक्षिण भुटान । मानिसलाई कुट्नसम्म कुटे र लुट्नसम्म लुटे सेनाले । घरघरमा आगो लगाए । लोग्ने मान्छे जतिलाई जेलमा लगेर थुने । पुरुष रहित गाउँमा राती राती गएर छोरी चेलीमाथि बलात्कार गरे । देश छोडेर जाने कागजमा सही गन्यौ भने मात्र तिमीहरूका लोग्ने वा छोराहरूलाई जेलबाट छोडिदिने प्रलोभन देखाए ।
सेनाको बर्बरता खप्न नसकेर कयौँ नागरिक सम्पूर्ण जायजेथा छोडेर राति नै देश छोडेर भाग्न विवश भए । जग्गा जमिनको पैसा थाप्न गएकाहरूलाई पनि तेरो प्रमाण पुगेन क्षतिपूर्ति पाउदैनस भनेर सेनाले आतङ्कित गर्दै खेदायो । कसैलाई राजी खुसीले देश छोडेर जान्दै छु भन्ने जोङ्खमा लेखिएको कागजमा सही गर्न लगायो । किच्च हाँस्न लगाएर हातमा पैसा थापेको फोटो र भिडियो बनायो । तर पैसा थापेर बाहिर निस्कनासाथ ढोकामा बसेको अर्को सेनाले सबै पैसा लुटेर लान्थ्यो । हल्ला गरिस् भने गोलीले उडाइदिन्छु भन्दै सेनाले छातीमा बन्दुक तेर्स्याउँदै अफिसबाट बाहिर निकाल्थ्यो ।
यसरी शारीरिक र मानसिक प्रताडना दिएर नागरिकलाई देश छाड्न विवश पारिएको थियो । राज्यले गरेका अमानवीय गतिविधिहरू शब्दमा बयान गरेर साध्य छैन । अहिले भुटानका चौथा राजा जिग्मे सिङगेलाई विष्णु भगवानको अवतार भनेर देवत्व करण गर्दै हिँड्नेहरूको संख्या पनि कम छैन । हरेक नयाँ पुस्ताले १९९० को घटनाको वास्तविक सूत्रधार को थियो भन्ने जान्न र बुझ्न जरुरी छ ।
राजाले मन्दिर बनाइ दिए, बिरामी हुँदा दबाइ पानी सित्तैमा गर्दिए र छोरा छोरीलाई निःशुल्क पढाइ दिए भनेर राजाको स्तुति र गुण गान गाउनेहरूले यो पनि बुझ्न जरुरी छ कि जनताको विकास र समृद्धि गर्ने निहुँमा राजाले पर्दापछाडिबाट के कस्तो काम गर्दैछन् भन्ने । अनि यो पनि जान्नु पर्छ कि देश कुनै राजाको बपौती र बिर्ता होइन । ससुरालीले दिएको दाइजो पनि होइन ।
देश जनताको साझा र आधार भूमि हो । राजा नहुँदा पनि देश रहन्छ र चल्छ । तर जनता विनाको न देश हुन्छ न राजा नै । देशका लागि जनता नै सार्वभौम र सर्वोपरि हो भन्ने स्वयं नागरिकले बुझ्नुपर्छ । शिक्षा,स्वास्थ्य र रोजगार हरेक नागरिकले राज्यबाट पाउने नैसर्गिक अधिकार हो । त्यसका लागि कसैका दया र तातब्यको गुण गाइरहनुपर्दैन । यति मात्र हो कि मैले राज्यलाई तिरेको करको सही सदुपयोग हुँदैछ कि छैन भन्ने प्रत्येक नागरिकले जान्नुपर्ने हुन्छ ।
१९९०सम्म भुटानमा राज्यले १३ लाख जनसंख्याको आँकडा देखाएर वैदेशिक साहयता प्राप्त गर्थ्यो । देश निर्माण र जनताको सरोकारका लागि दाताहरूबाट प्रतिवर्ष प्राप्त हुने त्यो करोड़ोंको आर्थिक रकम कसले हिनामिना गर्यो ? के त्यसको खोजी गर्ने कसैले हिम्मत गर्यो ? १९७२ देखि १९९० सम्म १३ लाख नागरिकका नाममा प्राप्त वैदेशिक सहयोग र सहायताको व्रह्मलुट कसले अनि कसरी गर्यो ?
त्यसको सही लेखाजोखा कसैसँग छैन । राजाले बनाइदिएको मन्दिरमा बक्खु लगाएर नाच्नुलाई मात्र स्वतन्त्र र सार्वभौम नागरिक भनिँदैन । मानिसजस्तो भएर स्वतन्त्र र स्वअस्तित्व साथ जिउनु नै साँचो र वास्तविक नागरिक हो । देशभक्ति र राष्ट्र प्रेम निर्दिष्ट एउटा पोशाकमा होइन साँचा नागरिकका मनभित्र हुन्छ । भुटानका राजा त भान्से मात्र होइनन् सर्वेसर्वा पनि हुन् । सर्वेसर्वा भान्से भएर पनि राजाले नागरिकलाई समान भाग पस्किँदै छ कि छैन त्यो हेर्ने जिम्मेवारी प्रत्येक नागरिकको हो ।
वास्तवमा भन्नुपर्दा भुटानको समस्याको जड भने कै त्यहाँको निरङकूश राजतन्त्रात्मक व्यवस्था हो । प्रथम धर्म राजा साब्ड्रोङ नावाङ नाम्गेलको धार्मिक राज्य व्यवस्थामाथि आक्रमण गरेर हजारौँ नागरिकको रगतमा होली खेलेर सन् १९०७ मा गैर कानुनी प्रक्रियाबाट स्थापित भएको वर्तमान राज्य व्यवस्था कुनै पनि हालता वैधानिक व्यवस्था होइन ।
भुटानका सबै राजा नराम्रा र अवसरवादी थिए भन्न खेजेको पनि होइन । केही राम्रा र उदार पनि थिए होला । तर व्यवस्था नै अपारदर्शी र अवैधानिक छ भने सञ्चालक जति नै राम्रो र उदार भए पनि राज्यमा स्थिरता,विकास र समृद्धि कहिले पनि हुँदैन । जुन भुटानले भोग्दै छ ।
भुटानभित्र त्यस्तो एउटा शक्ति छ जो जहिले राजा निरङ्कुश भइरहोस् र त्यसका आडमा देशको आर्थिक क्षेत्रमा व्रह्मलुट गर्न पाइयोस् भन्ने चाहन्छ । राजा वैधानिक भए भने देशको आर्थिक साम्राज्यमा ढलिमली गर्न पाइँदैन भनेर उनीहरू जस्तो सुकै परिस्थिरमा पनि राजालाई निरङ्कुसतामा टेकाइराख्न चाहन्छन् ।
रिजालले अगाडि भनेका छन्,सरकारको ल्होछम्पालाई राज्यविहीन बनाउने त्यो कुटिल योजना थिम्पुस्थित साथी भाइहरूलाई सुनाउने उचित अवसर मिलेन । मलाई जेलमा हालियो र एक सातापछि जेलबाट छोडियो । मैले राजालाई भेट्ने अनेक प्रयास गरेँ । तर राजाका भारदारहरूले भेट गर्न दिएनन् भन्ने गुनासो गरेका छन् रिजालले ।
एक दिन गृह मन्त्रालयमा उनलाई बोलाइयो र उनीसँग भएका महत्त्वपूर्ण कागजपत्रहरू खोसियो । एउटा भएको सांसद परिचय पत्र पनि दागोछिरङले खोसेर उनलाई छोड्दिए । थिम्पुमा बस्नै नसक्ने स्थिति बनेपछि रिजाल गेलेफू आफ्नै घरमा गएर बस्दै थिए । त्यहाँ पनि जति बेला जे पनि हुन सक्थ्यो । बोडरको बसोबासो । कुनै पनि बेला पुनः पक्रिने वा मार्ने स्थिति देखा पर्यो । फेरि देशभित्रै बसेर पनि जनता र देशका लागि केही गर्न सक्ने स्थिति थिएन ।
देशमा भइरहेको विभेद र ज्यादतीका विरुद्ध देशभित्रै रहेर प्रतिरोध गर्ने अवस्था नभएपछि रिजाल भारततिर लागे । भारतका विभिन्न राज्यहरूको भ्रमण गरेर त्यहाँका राजनैतिक र शुभचिन्तकहरूसमक्ष भुटानी शासकले दक्षिणका जनताका भाषिक, सांस्कृतिक मान्य र मूल्यमाथि अतिक्रमण गरेर देशविहीन बनाउने योजना गर्दै गरेको जानकारी गराए ।
भारतमा बसेर भुटान सरकार विरुद्ध कुनै पनि राजनैतिक गतिविधि गर्नु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गर्नुजस्तै थियो । भुटानमा परिवर्तनका लागि आवाज उठाउन भारतभन्दा नेपाल धेरै मात्रमा सुरक्षित रहेको भन्दै रिजाललाई नेपालमा बसेर काम गर्ने भारतीयहरूले सुझाव र सल्लाह दिए । त्यसपछि रिजाल नेपाल गए ।
रिजाल स्वार्थी र मतलबी थिए भने नेपाल मै बसेर उनी सम्पन्न र प्रतिष्ठित जीवन बिताउन सक्थे । तर उनले त्यसो गर्न चाहेनन् । जनता र देशका लागि उनले आलिसान र सम्पन्न जीवनका सपनाहरू त्यागी दिए । भुटानको निरङ्कुश राज्य सत्ताले नागरिकमाथि गरेको शोषण,दमन,अन्याय र दुराचार विरुद्ध लड्ने साहस गरे ।
त्यसका लागि उनले एउटा मानवअधिकार मञ्च नामको संस्था गठन गरेर भुटानमा भएका मानवअधिकार उल्लङ्घनका विरुद्ध आवाज बुलन्द गर्न थाले ।भुटानी जनताको दुर्भाग्य नै भन्नुपर्छ,नेपालमा पनि उनी सुरक्षित रहन सकेनन् । नेपालको तत्कालीन राज्यसत्ताले पक्रिएर उनलाई भुटानको निरङकूस राज्यसत्तालाई चोरजस्तै गरी हस्तान्तरण गर्यो ।
रिजालको प्रत्यावर्तनपछि भुटान झन् बढी त्रसित र आतङ्कित बन्दै गयो । दक्षिण भुटानमा धरपकड प्रारम्भ भयो । रिजालका पक्षधर ४४ जनालाई गिरफ्तार गरी जेल हालियो । ४८ जना देश छोडेर भाग्न सफल भए । यस अघि भुटानमा राजनैतिक मुद्दाको अभियोग लागेर जेल गएका मानिसहरू कुनै पनि जीवित घर फर्किएर आएको इतिहास थिएन । पक्राउ गरिएका रिजाल लगायत अन्य ४८ जना देशभक्तहरूको ज्यान बचाउनु नै पहिलो आवश्यकता थियो ।
त्यसैले भुटान बाहिर गएका केही साथीहरूले भारतीय विज्ञहरूसँग हार गुहार गरे । राम झोडा नजिकै रहेको गर्गण्डानामको एउटा चिया बगानमा अस्थायी रूपमा आश्रय स्थल मागेर बसे । नागरिकको सधैँ मुक्तिका लागि प्रजातान्त्रिक सङ्घर्ष नै ठिक र सान्दर्भिक छ भुटानका सन्दर्भमा भन्ने छिमेकी विज्ञहरूको सुझाव र सल्लाह अनुसार युवाहरूले राजकुमार बुढाथोकीको अध्यक्षतामा भुटान पिपल्स पार्टी नामको राजनैतिक संस्थाको स्थापना गरे । सन् १९९० जुन २का दिन स्थापना भएको भुटान पिपल्स पार्टीको नेतृत्वमा भुटानका ६ वटै जिल्लामा मानव अधिकार र प्रजातन्त्र प्राप्तिको माग गर्दै जनताहरू प्रदर्शनमा उत्रिए । राजनैतिक बन्दीहरूको शीघ्र रिहाइको माग गर्दै १३ सूत्रीय माग पत्र बुझाएका थिए । समय मै आन्दोलन नगरेको भए सायद जेल लगिएका कुनै पनि बन्दी जीवितै फर्केर आउने सम्भावना नै थिएन ।
अहिले पनि मानिसहरू भन्ने गर्छन्, चाहे प्रत्यक्ष होस् वा अप्रत्यक्ष नै १९९० को विद्रोहको जन्मदाता स्वयं भुटानको राज्य व्यवस्था नै हो भन्ने प्रशस्त आधारहरू छन् । उनीहरू दावीका साथ भन्छन् कि, नेपालबाट रिजालको भुटान प्रत्यावर्तन नभएको भए वा नेपालले भुटानलाई सुपुर्दगी नगर्दिएको भए भुटानमा न आम गिरफ्तार हुन्थ्यो । न जेलमा मान्छे मारिन्थे । न ४ दर्जनभन्दा बढी लोक सेवक,कर्मचारी,शिक्षक, विद्यार्थी र विकास र परिवर्तन चाहने जनताको नै देशबाट पलायन हुन्थ्यो । न भुटान पिपल्स पार्टी कै गठन हुन्थ्यो । न भुटानमा जुलुस प्रदर्शनी नै हुन्थ्यो । न एकलाख नागरिकले विस्थापनको पीडा नै भोग्नुपर्थ्यो । न हामीले दिनदिनै पहिचान विहीनताको सन्त्रास नै भोग्न विवश हुनुपर्थ्यो । हामीलाई राज्य विहीनताको अवस्थामा पुर्याउनुमा भुटान र भारतको मात्र भूमिका छैन, यसमा नेपालको पनि अह भूमिका रहेको उनीहरूको दाबी छ ।
माथिका घटनाक्रमहरूबाट के स्पष्ट हुन्छ भने भुटानमा पनि राजा र भ्रष्ट, बिचौलियाहरू मिलेर रिजालाई बलिको बोको बनाए । पछिल्लो समय नेपालमा पनि नक्कली शरणार्थी प्रकरण मुछेर रिजाललाई नै बलिको बोको बनाइयो ।
र यो पनि…