दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखिने
काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौँले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो ।
प्रसाईँ सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ ।
राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईँविरुद्ध राज्यविरुद्ध सङ्गठित अपराधको कसुर लगाइएको छ ।
त्यस अगाडि दुर्गा प्रसाईँलाई विमानस्थलबाट काठमाडौँ प्रहरी परिसर पुर्याइएको थियो। झापाको भद्रपुर हुँदै काठमाडौँ ल्याइएका प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको थियो ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईँ सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।
बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईँलाई शुक्रबार बिहान भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको हो ।
ज्यान मार्ने उद्योगसहितमा मुद्दा लागेका प्रसाईँलाई हतकडी लगाएर काठमाडौँ ल्याइएको थियो। प्रसाईँसँगै बडीगार्ड दिपक खड्का पनि प्रहरी नियन्त्रणमा परेका हुन्।
नेपाल प्रहरीको विशेष ब्युरोले झापाको काँकडभिट्टा हुँदै भारतमा पुगेर प्रसाईँलाई नियन्त्रणमा लिएको हो । भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट भद्रपुरको चन्द्रगढी विमानस्थलतर्फ लगिएको थियो।