अनुसन्धानका लागि रवि लामिछानेलाई रुपन्देही लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापित रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि रुपन्देही लगिएको छ। लामिछानेलाई आज पोखराबाट बुद्ध एअरको विमानमार्फत काठमाण्डु हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको हो। विमानस्थलमा ओर्लेपछि, उनलाई कडा सुरक्षा घेराबन्दीमा जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ।
प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालका अनुसार, लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएपछि बयान लिइने प्रक्रिया अगाडि बढाइनेछ। उनले भने, “सरकारी वकिलको कार्यालयमा बयान लिनका लागि उनलाई रुपन्देही ल्याइएको हो।”
रुपन्देही जिल्ला अदालतको आदेशपछि लामिछानेलाई बयानका लागि ल्याउने काम सुरु भएकोले आज बिहानदेखि रुपन्देहीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गौतमबुद्ध विमानस्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। त्यस्तै, सरकारी वकिलको कार्यालय र अदालतको आसपासका क्षेत्रलाई व्यारिगेड राखेर बन्द गरिएको छ।
सहकारी ठगीसम्बन्धी अनुसन्धानमा लामिछानेलाई प्रमुख आरोपीका रूपमा समावेश गरिएको छ। कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाको पक्राउका लागि पुर्जी जारी गरेको थियो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंको पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो र ३ गते पोखरा पठाइएका थिए। त्यसपछि, उनलाई ४ गते कास्की जिल्ला अदालतमा पेश गरिएको थियो। कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो।
रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाबाट १४ करोड २९ लाख रुपैयाँ ठगीको आरोप लगाएको छ। उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरिएको आरोप छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ रवि लामिछानेको नाममा लिएको तथ्य बाहिर आएको छ। यससँगै १४ करोड २९ लाख रकम विभिन्न व्यक्तिहरूको मार्फत गोर्खा मिडिया नेटवर्कमा गएको पुष्टि भएको छ।
रवि लामिछाने यस घटनासँग आफू कुनै किसिमको संलग्नता नरहेको र आफूले निवेदन दिई ऋण नलिएको दाबी गर्दै आएका छन्। उनले सार्वजनिक रूपमा भनेका छन् कि यो आरोप गलत छ र आफू निर्दोष रहेको दाबी गरेका छन्।














