मनाङे डिल्लीबजार कारागारमा उनको सांसद पद के हुन्छ ?
काठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ (राजीव गुरुङ) कारागार चलान भएका छन् ।
ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएपछि उनी मंगलबार पक्राउ परेर डिल्लीबजार कारागार चलान भएका हुन् । उनी अब २८ महिना कारागारमा बस्नु पर्ने छ । सर्वोच्चले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि फैसला कार्यान्वयनका लागि आफै सघाउने बताएका मनाङेलाई मंगलबार नै पक्राउ गरिएको हो ।
२० वर्ष अघि चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी प्रहार गरी घाइते बनाएका मनाङे दोषी ठहर भएर कारागार चलान भएसँगै उनको सांसद पद केहुन्छ भन्ने चासो देखिएको छ । उनले फौजदारी अभियोगमा ५ वर्षको कैद सजाय भुक्ता गर्नु पर्ने छ । २०६१ सालमा भएको घटना पछि उनी २०६३ साल माघ ७ गते जिल्ला अदालतको आदेश अनुसार २ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका थिए । त्यसपछि तत्कालिन पुनरावेदन अदालत पाटनले उनलाई जिल्लाको फैसला उल्ट्याउँदै ५ वर्षको सजाय सुनाएको थियो । उक्त आदेशविरुद्ध मनाङ सर्वोच्चमा पुगेका थिए ।
फरार रहेकै बेला २०७० को आम निर्वाचनमा मनाङ खबाट प्रदेश सभासदस्य बनेका थिए । सदस्य भए पछि पक्राउ परेका उनी सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएर यसबीचमा २ पटक प्रदेशसभा सदस्य र ६ पटक गण्डकी प्रदेशको सांसद नै भएका थिए । उनले पहिला पनि कारागारमा बसेकाले अब २८ महिना कैद सजाय भुक्तान गर्नु पर्ने छ ।
उनी कारागार चलान भएसँगै उनको सांसद पदको बारेमा भने कुनै निर्णय भएको छैन । गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले सर्वोच्चको फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि मात्रै मनाङेको विषयमा निर्णय हुने बताएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी १० प्रावधान छन् । त्यसमध्ये उपदफा (घ) को व्यवस्था मनाङेका हकमा आकर्षित हुने देखिएको छ ।
उपदफा (घ) मा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने’ भनिएको छ ।