संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै
काठमाडौं । सहकारी संस्थाहरूको बचत रकमको दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न लागेको छ। समितिले शनिबार अपराह्न ५ बजे प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम बनाएको छ। यो छलफलपछि मात्रै समितिले आफ्नो प्रतिवेदनलाई पूर्णता दिने तयारी रहेको छ।
समितिले यसअघि गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग पनि छलफल गरिसकेको छ। उक्त छलफलमा सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजबीनको प्रगति बारे जानकारी लिइएको थियो। विदेशमा फरार रहेका व्यक्तिहरूको संख्या २८ रहेको छ, र यस बारेको प्रगति विवरण लिखित रूपमा पेश गर्न बैठकले निर्देशित गरेको छ।
समितिले सहकारीसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग बयान लिने काम पनि पूरा गरिसकेको छ। प्रारम्भिक प्रतिवेदन बुझाउने म्याद गत भदौ २२ गते सकिएको थियो, तर काम पूरा नभएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको थप म्याद प्राप्त गरिएको छ।










