अमेरिकामा ७० जना विद्यार्थी एकै पटक वैदिक दीक्षित
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिका एकै पटक ७० जना विद्यार्थी वैदिक दीक्षित भएका छन्। त्यसमा महिला पनि रहेका छन्। सरोकारवालाले यसलाई ऐतिहासिक भनेका छन्।
विभिन्न माध्यमद्वारा पछिल्ला ६ वर्ष देखि वैदिक शास्त्र अध्ययन गर्दै आएका विद्यार्थीलाई हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचारसी) ले एक विषेश समारोहका बिच दीक्षित गरेको हो।
पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग स्थित श्रीलक्ष्मी नारायण हरहरि धाम (हिन्दु मन्दिर) मा जनै पूर्णिमा तथा रक्षा वन्दनका दिन विद्यार्थीहरूले वैदिक दीक्षित भएको प्रमाण पत्र पाए। विद्यार्थीले पाएको प्रमाण पत्रमा पेन्सिल्भेनिया सरकारको लोगो अङ्कित छ।
ओएचारसीका मिडिया संयोजक सिएम निरौलाका अनुसार स्वामीजी वासुदेव महाराज र डा. खेम नेपालले अध्यापन गराएका विद्यार्थीहरू यस पटक दीक्षित भएका हुन्। १३ वर्ष देखि ८० वर्ष सम्म उमेर समूहका विद्यार्थीले वैदिक शास्त्र अध्ययन गरेका थिए। वैदिक शास्त्र भनेको हिन्दु धर्म संस्कृतिका ज्ञान ग्रन्थ हुन्।

निरौलाका अनुसार दुई देखि ६ वर्ष सम्म वैदिक शास्त्र अध्ययन गरेका विद्यार्थी यस पटक दीक्षित भएका छन्।
‘भागवत मात्र पढ्नेले दुई वर्षमा अध्ययन सकेका छन्, सबै मुख्य ग्रन्थ पढ्नका लागि ६ वर्ष सम्म लागेको छ।’ समाज टाइम्स सँगको कुराकानीमा निरौलाले भने।
कक्षा अनलाइन र भौतिक दुवै तर्फ सञ्चालन गरिएको थियो। भौतिक कक्षा हरिहर धाममा नै सञ्चालन गरिएको थियो।
विद्यार्थीलाई वेद, भागवत, चण्डी, रुद्री, गीता र कर्मकाण्डको अध्ययन गराइएको थियो। ‘दीक्षितहुनेहरु आज बाट पण्डित भए।’ मिडिया संयोजक निरौलाले भने।
त्यस मध्ये तुलसा देवी गौतमले श्रीमद्भागवत महापुराण, बिष्णुसहस्रनाम, श्रीमद्भगवतद्गीता, गुरूपरम्परा, गोपाल शहस्रनाम, श्रीसुक्त र आलवन्दारस्तोत्रम अध्ययन पुरा गरेकी छिन्।
यस्तै नारायण गौतमले वेद, श्रीमदभागवत महापूराणम्, श्रीविष्णुशहासरनाम, अग्नीस्थापना/ हवनपद्दती, पितृयागपद्दती, वैकुण्ठचन्द्रीका, पञ्चशुक्तानी, नारायणानुवाक, शान्तिमन्त्रा, नारायणोपनिषद् आदीको पाठन पुरा गरेका छन्।

निरौलाका अनुसार व्यक्तिगत प्रयास हुँदै यो वृहत् कार्यक्रम बनेको हो। ‘शुरुमा मैले डा. खेम नेपाल सँग अध्ययन गर्न शुरु गरे, मैले साथीलाई भने, साथीले अर्को साथीलाई भने त्यसरी धेरै जनामा कक्षामा जोडिन पुगेका हौ।’ निरौला भने, ‘ स्वामीजी वासुदेव महाराज सँग पनि त्यसै गरि अध्ययन पुरा गरेकाहरु र हामीहरुलाई जोडेर ओएचआरसीले विषेश कार्यक्रम गर्यो त्यो झन् राम्रो भयो।’
डा. खेम नेपालले पनि दीक्षान्त समारोह कार्यक्रम ऐतिहासिक र भव्य रूपमा पनि सम्पन्न भएको बताए। उनले यस्ता कार्यक्रमले युवा पीढीलाई आफ्नो संस्कार र संस्कृतिको अध्ययन गर्न चाहनेलाई योगदान पुर्याउने बताए।
ओएचारसीका कार्यकारी निर्देशक तुलाराम न्यौपानेका अनुसार प्रथम वैदिक दीक्षान्त समारोह चार दिन सम्म चलेको थियो।
पहिलो दिन शुक्रवार ह्यारिसबर्गमा कलश यात्रा सहित कार र्याली गरिएको थियो।
‘यो सम्भवतः अमेरिका पहिलो पटक होला हिन्दु सनातनहरूले कार र्याली गरेको, कार र्यालीमा स्थानीय सरकारबाट जुन प्रकारको सहयोग पायौ त्यसका लागि हामी आभारी छौ, हाम्रो उद्देश्य थियो हामी पनि यहाँ छौ हिन्दु सनातनी पनि यहाँ छौ हामी पनि यो देशको विकास पेन्सिल्भेनियाको विकासका लागि तत्पर छौ भनेर उद्घोष थियो।’ दीक्षान्त समारोहको अन्तिम दिन आयोजित सभामा न्यौपानेले भने।
न्यौपानेका अनुसार दोस्रो दिन आध्यात्मिक अन्तरक्रिया गरिएको थियो। जसमा स्वामीजी महाराज तथा गुरु वर्गहरूले निर्देशन दिएका थिए। यस्तै समारोहको तेस्रो दिन एक सय आठ जनाले एकै छाना मुनि भागवत पाठ गरेका थिए। ‘यो पनि पहिलो र ऐतिहासिक कार्य भएको छ।’ कार्यकारी निर्देशक निरौलाले दाबी गरे,’ अमेरिकामा एकै छानामा भागवत पाठ गरिएको छ।’

स्वामी महाराज र गुरु वर्गलाई सम्मान समेत गरिएको दीक्षान्त समारोहमा भुट्नीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले हिन्दु धर्म संवर्द्धनका लागि ठुलो भिजन बनाएको भन्दै ओएचआरसीलाई धन्यवाद दिए।
उनले अब ठुलो हल बनाउनु पर्नेमा जोड समेत दिए। ‘हामीलाई ठाउँ सानो भएको छ, यतिले पुग्दैन सबै मिलेर ठुलो हल बनाउन पर्छ, बीसिएच ओएचआरसी सँग मिलेर काम गर्न तयार छ।’

युएस सिनेटर जोन फेटरम्यानको क्षेत्रीय प्रतिनिधि रेबेका काउन्टेस पुराना ग्रन्थहरूको अध्ययनले समाजमा अनुशासन ल्याउने धारणा राखिन।
यसै गरी पेन्सिल्भेनिया गभर्नर अमेरिकन एसिया प्यासिफिक आइल्याण्डर मामिला सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिम कारु दीक्षित विद्यार्थीलाई गुरु वर्गलाई सम्मान गर्न नभुल्न आग्रह गरे। यसै गरी उनले नोभेम्बर सम्ममा मतदान नामावलीमा नाम दर्ता गर्न र आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
पेन्सिल्भेनिया राज्य प्रतिनिधि (सांसद) डेभ मैडसेन नेपाली भाषी भुटानी समुदायले स्थानीय अर्थतन्त्र उकास्न ठुलो सहयोग गरेको बताए। दोस्रो कार्यकालका लागि निर्विरोध भएका सांसद मैडसेनले अन्य पदमा राम्रा उम्मेदवार छनौट गरी भोट गर्न आग्रह गरे।
उनले हिन्दु धर्म र संस्कृतिका बारेमा धेरै ज्ञान लिने अवसर पाएको बताए। सांसद मैडसेनले कुनै पनि समस्या परेमा आफ्नो अफिसमा सम्पर्क गर्न आग्रह गरे। मैडसनले आफ्नो अफिसमा नेपाली भाषामा कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको समेत जानकारी दिए।

यसै बिच डा. खेम नेपालले भविष्यमा पनि संस्कृति भाषा, हिन्दु धर्म र संस्कृतिका बारेमा अध्ययन गर्न चाहनालाई आफूले निःशुल्क ज्ञान दिने बताएका छन्। उनले नयाँ कक्षा सेप्टेम्बर एक तारिख देखि शुरु हुने र इच्छुकलाई आफूलाई सोझै वा ओएचआरसीमा सम्पर्क गर्न अनुरोध गरेका छन्।













