एनआरएनए : मानहानी मुद्दामा केसीपक्षसँग लिखित जवाफ माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता डा. बद्री केसी, डा हेमराज शर्मा र एनआरएन सचिवालयविरुद्ध मानहानी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।
मनोज कुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासले आइतबार केसी पक्षलाई १५ दिनभत्रि लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अब म्याद बुझेको १५ दिनभित्र लिखित जवाफ आएमा उक्त मुद्दाको अन्तिम सुनुवाई सुनुवाई सुरुहुने छ ।
अधिवक्ता श्यामकृष्ण मास्केले डा. केसी, डा. शर्मा र एनआरएनए सचिवालयाई विपक्षी बनाइ सर्बोच्च अदालतमा मानहानीको मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतको सपन मल्ल प्रधान र डा. नहकुल सुवेदीको संयुक्त इजलासले एनआरएनएका सबै समानान्तर गतिविधिहरुलाई अबैध ठहर गर्दै संरक्षक परिषद्ले ६ महिनाभित्र अधिवेशन गर्न फैसला गरेको थियो ।
सर्वोच्च अदालतले केही अघि गरेको एनआरएनएसम्बन्धी फैसलालाई चुनौती दिँदै उनीहरुले अभिव्यक्ति दिएको भन्दै अधिवक्ता मास्केले मुद्दा दायर गरेका हुन् । केसीले सर्वोच्चको फैसला वकिलको ‘ल फर्म’मा बसेर तयार गरिएको भन्दै अभिव्यक्ति दिएका थिए ।
सर्वोच्चले एनआरएनएको आधिकारिकतासम्बन्धी विनोद कुँवर पक्षका रिटमा फैसला गर्दै संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्नुका साथै २०७८माघ १ को बिन्दुबाट कामकारबाही थालेर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।