अमेरिकाको टेक्ससमा हुने ‘गेटवे टु द ग्लोब’ सहभागी बनौँ, नेपाल चिनाऔ
टेक्सस/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत टेक्सस च्याप्टरले ‘गेटवे टु द ग्लोब’ मा सहभागी हुन अपिल गरेको छ।
टेक्सस राज्यको सिटी अफ फ्रामर ब्रान्चले मार्च २३ तारिख गेटवे टु द ग्लोब महोत्सवको आयोजना गर्दै छ। विश्व भूगोल र त्यहाँका बासिन्दाहरूको परम्परा र संस्कृतिलाई प्रवर्द्धन गर्ने बहु सांस्कृतिक उत्सव गर्न लागिएको आयोजकको भनाई छ।
‘महोत्सव स्थानीय सरकारले नै आयोजना गर्न लागेको हो, विश्वका विभिन्न देशको सहभागिता रहने कार्यक्रममा हामीलाई पनि निम्तो आएको छ, हामी सहभागी हुन्छौ।’ टेक्सस च्याप्टरका अध्यक्ष दीपेन्द्र गुरागाईँले समाज टाइम्स सँग भने।
‘यो हाम्रो संस्कृतिलाई टेक्ससमा रहेका अन्य समुदाय सँग परिचित गराउने उपयुक्त अवसर पनि हो।’ गुरागाईँ भन्छन्, ‘हामी नेपालको सांस्कृतिक र विविधताको बारेमा अरूलाई देखाउन सक्छौ।’
‘कार्यक्रम निकै पहिले देखि हुँदै आएको रहेछ, हामी छुट्दै आएका थियौ, यस पटक निम्तो आयो पहिलो पटक भएकाले हामी नेपाली भेसभुसामा त्यहाँ पुग्छौ अर्को पटक देखि समयमै अलिक तयारी गर्छौ।’ गुरागाईँले भने।
उनले अमेरिकामा नेपाली समुदाय आफू आफूमा मात्र सीमित हुन नहुने बताए। ‘अब हामीले हाम्रो उपस्थित अन्य समुदायमा पनि देखाउन ढिला गर्न हुन्न, त्यसका लागि यो एउटा राम्रो अवसर हो नेपाल चिनाउने।’
गुरागाईँले यस्ता कार्यक्रममा नेपालको पर्यटन प्रवर्धनमा पनि ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
टेक्सस राज्यको सिटी अफ फ्रामर ब्रान्चले आफ्नो क्षेत्रमा रहेका नयाँ र पुराना बासिन्दालाई एक आपसमा घुलमिल गराउन यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ।
सिटीले यस्ता कार्यक्रमले हजारौँले मनोरञ्जन गर्ने र जीवनको गुणस्तर पनि बढाउने दाबी गरेको छ।
कार्यक्रममा लाइभ लाइभ कन्सर्ट सहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने छ।
अध्यक्ष गुरागाईँले नेपाली पोसाकमा कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।















