अमेरिकामा बन्यो चिटिक्कको पशुपति मन्दिर, मार्च ८ तारिख उद्घाटन
अस्टिन, टेक्सस/ अमेरिकाका विभिन्न राज्यमा मन्दिर र गुम्बा निर्माण धमाधम भइरहेका छन्। नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्ससको राजधानी अस्टिन नजिकमा रहेको विलिम्सन काउन्टीको हुट्टोमा पनि चिटिक्कको पशुपतिनाथको मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
अस्टिन नेपाली समाजले सात लाख अमेरिकी डलरको लागतमा नेपाली मौलिकता झल्किने गरी मन्दिर बनाएको हो। पशुपतिनाथ मन्दिरको फोटो सार्वजनिक भए पछि हेर्नेहरूको दैनिक घुइँचो लाग्न थालेको छ।
अस्टिनवासी नेपाली समुदायको अथक प्रयास र सहयोगमा निर्मित मन्दिरमा अहिले रङ्ग रोगन र अन्य सजावटका काम भइरहेका छन्। समाजका अध्यक्ष भोजराज भट्टका अनुसार मार्च आठ तारिख शिवरात्रिको अवसर पारेर भव्य कार्यक्रमका बिच मन्दिरको औपचारिक उद्घाटन गरिने छ।
अध्यक्ष भट्टका अनुसार मन्दिर उद्घाटन कार्यक्रममा नेपाली राजदूतावास, अमेरिका स्थित नेपाली समुदायका विभिन्न संस्थाका प्रतिनिधि, नेपाली समुदायका अगुवाहरूलाई निमन्त्रणा पठाउने काम भइरहेको छ । मन्दिर निर्माणको लागि महासचिव विदुर खतिवडा, मन्दिर निर्माण समितिका संयोजक गेहेन्द्र केसी, उप संयोजक देवराज न्यौपाने लगायत ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका कार्य समितिका पदाधिकारीहरू, सञ्चालक समितिका पदाधिकारीहरू लगायत अस्टिनबासी नेपाली समुदायको उल्लेखनीय सहयोग रहेको भट्टले जानकारी दिए।
पशुपति नाथ नेपाली समुदायका आस्थाका केन्द्र हुन । अमेरिकाका विभिन्न राज्यमा नेपाली समुदायले भगवान् पशुपति नाथको मन्दिर निर्माण गरेका छन् । तर खुल्ला स्थानमा नेपालको पशुपति नाथ मन्दिरको झल्को दिने अस्टिनमा निर्माण गरिएको पशुपति नाथको मन्दिर पहिलो भएको अध्यक्ष भट्टले दाबी छ।
मन्दिर सञ्चालक समितिका संयोजक गेहेन्द्र केसीका अनुसार पशुपति नाथ मन्दिर निर्माणको लागि मूर्ति, गजुर, काठ, इँटा, आँखी झ्याल, नन्दी लगायतका सामग्रीहरू नेपालबाट ल्याएर जडान गरिएको हो । नेपालका चर्चित कालिगड तथा मूर्तिकार चन्दैश्याम डङ्गोल तथा अस्टिनका मूर्तिकार चन्द्र लिंखाले नन्दी तथा काठमा कला भरेका छन् ।
मन्दिर निर्माणको काम सम्पन्न भएपछि मन्दिर परिसरमा धार्मिक कार्यक्रम, भजन कीर्तनको लागि छुट्टै भजन निर्माण गरिने मन्दिर सञ्चालक समितिका संयोजक केसीले बताए।
पछिल्लो समय टेक्ससको अस्टिन नेपाली समुदायको रोजाइको ठाउँ भएको छ । पशुपति नाथ मन्दिरले नेपाली समुदायलाई भावनात्मक रूपमा एकताबद्ध बनाउने अस्टिनबासी नेपालीहरूको विश्वास रहेको छ ।
सन् २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले अस्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअघि समाजले मन्दिर नजिकै सामुदायिक भवन समेत निर्माण गरी सञ्चालनमा ल्याई सकेको छ ।
हाल ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले अस्टिनमा ५० हजार डलर भन्दा माथि सहयोग गर्ने एक जना डायमन्ड ट्रस्टी, २५ हजार डलर भन्दा माथि सहयोग गर्ने २ जना प्लाटनियम ट्रस्टी र करिब १ हजार सदस्यहरू रहेका छन् ।














