ईन्जाको आयोजनामा नेपाली पत्रकारहरू टोकियोमा भेला हुँदै, प्रेस टोकियो घोषणापत्र जारी गर्ने
पेन्सिल्भेनिया/नेपाली अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था ईन्जाको आयोजनामा जापानको टोकियोमा नेपाली पत्रकारहरू भेला हुने भएका छन्।
फेब्रुअरी २८ तारिखबाट सुरु हुने “ईन्जा टोकियो सम्मेलन २०२४” का लागि नेपाल, अमेरिका, कोरिया, मध्यपूर्व एसिया, युरोप तथा विभिन्न मुलुकमा रहेका जना पत्रकारहरू सहभागी हुने ईन्जा ग्लोबल अध्यक्ष गुणराज लुइँटेलको भनाइ छ ।
कार्यक्रमको पहिलो चरणमा ईन्जा पदाधिकारहरूको भेला हुने छ भने २९ तारिख अपराह्न जापानी संचारकर्मीहरूसँग छलफल हुने जनाइएको छ। अध्यक्ष लुइँटेलका अनुसार मार्च १ तारिख शुक्रवार नेपाली समुदायसँग खुल्ला अन्तरक्रिया कार्यक्रम हुने छ।
नेपाल सहित विदेशमा छरिएर विभिन्न फरक पेसा व्यवसायमा रहेका नेपाली पत्रकारहरूलाई एउटै मालामा गाँस्ने अभियान अनुरूप यस पटक टोकियो भेला आयोजना गरिएको कार्यक्रम संयोजक ईन्जा एशिया उपाध्यक्ष आनन्द कोइरालाले जापानबाट जानकारी दिए।
ईन्जा स्थापना दिवसको अवसर पारेर टोकियोमा आयोजना गर्न लागिएको ईन्जाको यस कन्फरेन्सले टोकियो घोषणापत्र पनि जारी गर्ने छ ।
“सम्मेलनले लामो समयदेखि नेपाल पत्रकार महासंघले खनेको पुरानो डोवदेखि हालै पछिल्लो पटक अष्ट्रेलियाका पत्रकार साथीहरूले डायस्पोराको विशिष्ट अवस्थाबारे उठाएका सवालहरू र ईन्जाका आफ्नै विषय, भिजन र नेटवर्किङ अभियान साथै ग्लोबल पत्रकारिताका टिलपिलाउँदा सवाललाई सिन्थेसाइज गर्दै केही महत्त्वपूर्ण छलफल गर्नेछ ।” जापान उड्नु अघि समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष लुइँटेलले भने, “नेपालकै पत्रकारिताका एकेडेमीक पक्ष,आईएफजे लगायतले उठाएका बाह्य संसारका गहन विषय र जापानी पत्रकारिताबाट हामीले सिक्न सकिने कुराहरू लगायतका पाटोहरूमा घोत्लिने अवसर पनि जुटेको छ ।”














