पेन्सिल्भेनियामा सम्पन्न ‘दि एथनिक नाइट’: नेपाली, नेपाली भाषी भुटानी विद्यार्थी उत्साहित

ह्यारिसबर्ग / अमेरिकामा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा विशेष गरी हाई स्कुलमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति न्यून नै हुन्छ। सकभर उनीहरू जानै मान्दैनन्, गएकालाई पनि अड्याउन गाह्रो हुन्छ।
अपवाद बाहेक बालबालिका जति जति हुर्कँदै जान्छन् उनीहरूका रुचि पनि फरक हुन्छन्। तोकिएको समय भन्दा ढिलो शुरु हुने, लम्वेतान र पट्यारलाग्दा भाषण जुन कतिपयलाई बुझ्न पनि कठिन हुन्छन् त्यसले गर्दा तन्नेरी पुस्ता त्यस्ता कार्यक्रममा दोहोर्याएर आउन चाहँदैनन्। अर्को तर्फ मोबाइल र भिडियो गेमले पनि युवा युवतीलाई समाजबाट टाढा बनाउँदै लगेको छ।
तर गत शनिवार साँझ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको डिस्का डोजोमा झन्डै चार घण्टा बिताए पछि पनि दश कक्षामा अध्ययनरत रिना प्रधान र प्रेक्षा मिश्र प्रफुल्ल थिए।
रिना र प्रेक्षा मात्र होइन नेपाली, नेपाली भाषी भुटानी समुदायका लगभग पाँच दर्जन हाई स्कुलका विद्यार्थीको मुहार हँसिलै थियो। नहोस् पनि किन, कार्यक्रम नै त्यसैको लागि आयोजना गरिएको थियो।
‘लजालु, सामाजिकीकरणमा भाग लिन नचाहने प्रवृत्तिलाई न्यूनीकरण गर्न आज हामीले यो कार्यक्रम आयोजना गरेका हौ।’ मुख्य आयोजक युवा इन एक्सनका अध्यक्ष शोभित अधिकारीले गाँठो फुकाएका थिए।
‘दि एथनिक नाइट’ नाम दिइएको कार्यक्रम एसियन रिफ्युजीज युनाइटेड (एआरयु), ब्राइट ल्यानक्यास्टर र नेपाली एसोसिएसन क्लबको सहकार्यमा युवा इन एक्सन गरेको थियो।
हाई स्कुल र कलेजमा पढ्दै गरेका विद्यार्थीलाई एक आपसमा परिचय गराउने र स्रोतका उपाय सुल्झाउन कार्यक्रम आयोजना गरिएको थियो।
‘हाई स्कुलका विद्यार्थी नयाँ साथीहरू सँग घुलमिल हुन् भन्ने हाम्रो उद्देश्य हो।’ एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङले कार्यक्रम पछि समाज टाइम्स सँग भने,’समुदायको कार्यक्रममा उनीहरूलाई ल्याउनै गाह्रो, यो चुनौतीपूर्ण नै हो, तर म आफै दङ्ग छु, हामीले सोचेको भन्दा राम्रो उपस्थिति रह्यो।’
हलमा झन्डै झन्डै एक सय जनाको उपस्थिति रहेको थियो। गुरुङका अनुसार ८० जनाको लक्ष राखेर एक हप्ता भित्र दर्ता गर्न भनिएको थियो। ‘८३ जनाले साइन अप गरेछन्, कार्यक्रम स्थलमै दश जना आए।’ गुरुङले भने,’हामीले आ आफ्नो जातीय र पहिचान झल्काउने पोसाकमा आउन भनेका थियौ त्यसले पनि उनीहरू उत्साहित थिए।’
आयोजकले शुरु देखि नै कार्यक्रमलाई राम्रो रोचक बनाउने प्रयास गरेका थिए। नाम दर्ता पछि हातमा एउटा बन्द खाम दिएर सहभागीलाई स्न्याकको रूपमा सोझै समोसाको अफर गरिएको थियो।
समोसा खादै पहिल्यै परिचित साथीहरू एउटै टेबलमा बसिरहेको बेल उद्घोषकबाट अनुरोध आयो ‘हातमा भएको खाम खोल्नुस्’।
खाम भित्र एउटा राफल चिट्ठा थियो, अर्को कलरवाला कागजको टुक्रा। उद्घोषकले फेरि भने, ‘अब तपाईँको हातमा जुन रङ्गको कागज छ त्यही अनुसार मिल्ने टेबलमा बस्नु होला, यहाँ नयाँ साथी सँग घुलमिल हुन यो कार्यक्रम गरिएको हो।’
त्यस पछि सहभागीलाई विभिन्न प्रश्न सोध्ने, टेबुलमा रहेका नयाँ साथीहरू बिचमा छलफल गर्ने र एक जनाले जवाफ दिने गरिएको थियो। प्रश्नोत्तरमा पनि उनीहरूले सक्रिय सहभागिता जनाए। आफूलाई लागेको धक नमानी भने।
बिच बिचमा राफल चिट्ठा खोल्ने, नृत्य तथा गायन गर्दै कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाइएको थियो।
कार्यक्रममा युभाको तर्फबाट रोशन खड्का र राम अधिकारी , एआरयुको तर्फबाट रविन गुरुङ, पर्शु अधिकारी, नवल राइ, ज्योति कामना धिमाल , भगत दुलाल नेपाली एसोसिएसनको तर्फबाट मेलीना धिताल र ब्राइट ल्यानक्यास्टरको तर्फबाट समीक्क्षा सुवेदीले आआफ्नो संस्थाको काम र त्यसबाट युवा तथा विद्यार्थीले लिन सकिने फाइदाको बारेमा जानकारी गराएका थिए।
यस्तै लिहाइ विश्वविद्यालय र बीसीएचको समन्वयमा युथ र एडल प्रोजेक्जमा कार्यरत मन्जु गुरङ र सौरभ भण्डारीले पनि आफ्नो कार्ययोजनाका बारेमा बताएका थिए।
उनीहरूले कलेज जाने तयारीमा रहेका हाई स्कुलका विद्यार्थीलाई आफ्नो अनुभव सुनाए। नियमित कार्यक्रम र ‘डिनर’ सँग सँगै जस्तो जारी रहेको थियो।
करातेको काता प्रदर्शन समेत गरेकी रिनाले कार्यक्रम आफ्ना लागि रोचक र प्रभावकारी भएको टिप्पणी गरिन्। ‘हाई स्कुलका विद्यार्थी कलेजका विद्यार्थी सँग जोडिन पायौ यो विशेष रह्यो।’ उनले भनिन्।
दश कक्षामा नै अध्ययनरत प्रेक्षा मिश्रले पनि कलेजमा पाइने छात्रवृत्ति र इन्टनसिपको बारेमा नयाँ कुरा थाहा पाएको बताइन।
यसै गरी पेन स्टेट क्याम्पस ह्यारिषबर्गमा अध्ययनरत लक्षु चिमोरिया र भागत दुलालले कलेजको अनुभव सुनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
‘हाई स्कुलका भाइबहिनीहरू सँग जोडिन पायौ।’ चिमोरियाले भने, ‘हाम्रो पालमा यस्तो थिएन।’
दुलालले यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिए।
एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ गुरुङले कलेजका विद्यार्थीमा सहयोगी भावना देखिएको टिप्पणी गरे। ‘कलेजका विद्यार्थीले हाई स्कुलका विद्यार्थीलाई सपोर्ट गर्छु भनी आउनु राम्रो हो।’ गुरुङले भने।
युवा एन्ड एक्सनका अध्यक्ष शोभित अधिकारीले आफूहरूले अपेक्षा भन्दा ठुलो रिजल्ट पाएको प्रतिक्रिया दिए।
‘यस्तो खालको कार्यक्रम चाहिँदो रहेछ भन्ने प्रमाणित भएको छ।’ अधिकारीले भने,’अर्को वर्ष ठुलो ठाउँमा कार्यक्रम गर्छौ समुदायका धेरै जना सम्म पुग्ने प्रयास गर्छौ।’
कार्यक्रम भिडियोमा