एएफसी एशिया कप : जापान इराकसँग स्तब्ध
काठमाडौं । कतारमा जारी एएफसी एशियन कप फुटबलमा इराकले जापानमाथि ऐतिहासिक जित निकालको छ ।
एएफसीमा सन् २००० यता जापानलाई पराजित गर्न नसकेको इराकले शुक्रबार भएको खेलमा जापानमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
जितसँगै समूह डीबाट इराकले अन्तिम १६ मा स्थान पक्का गर्दा जापानलाई भने समूह चरणको अन्तिम खेल कुर्नु पर्ने बाध्यता आइलागेको छ ।
पहिलो हाफमै २ गोल गरेको इराकले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोलमात्रै व्यहोरेको थियो ।
इराकका लागि दुवै गोल आयमान हुसेनले गरेका थिए । उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाए ।
पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा हुसेनले नै व्यक्तिगत दोस्रो गोल गर्दा इराक २–० ले अघि बढेको थियो । ५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि इराकमाथि दबाब बनाउन भने पटक पटक असफल भएको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा जापानका बतारु एन्डोले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन ।














