इरानले पाकिस्तानमा गर्यो हवाई हमला
काठमाडौं । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भनेको छ । साचै गम्भीर परिणामको भोग्नु पर्ने धम्की पनि दिएको छ ।
मङ्गलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह जैश अल–अदलका अड्डाहरूलाई निशाना बनाएर हमला गरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरिएको थियो । आतंकवादी स्थानहरूलाई मिसाइल र ड्रोनले निशाना बनाइएको थियो । आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
इरानको यो कदमले दुई देशबीचको सम्बन्ध बिग्रने डर छ । दुवै देशले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम राख्दै एकअर्कालाई शंकाको दृष्टिले हेर्दै आएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले ‘पाकिस्तानको सार्वभौमसत्ताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।’ विज्ञप्तिमा भनेको छ ।
यसअघि इरानले सिरिया र इराकमा पनि आक्रमण गरेको थियो । सुन्नी आतंकवादी समूह इस्लामिक स्टेटले यस महिना गराएको दुईवटा आत्मघाती बम विस्फोटपछि तेहरान आक्रोशित छ, जसमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
















