ल्यानक्यास्टरमा प्लास्टिक झोला प्रतिबन्ध
ल्यानक्यास्टर / तपाई अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा बस्नु हुन्छ ? नयाँ वर्षको पहिलो दिन तपाई आज ल्यानक्यास्टर टाउनशिपका कुनै स्टोरमा जानु भयो ? त्यसो भए तपाईँले केही नयाँ अनुभव गर्नु भयो होला ।
हो, नयाँ वर्षको पहिलो दिन देखि ल्यानक्यास्टर टाउनशिपमा एक पटक मात्र प्रयोग गर्ने प्लास्टिक झोला प्रतिबन्ध गरिएको छ।
ल्यानक्यास्टर टाउनशिपले गत अगस्टमा गरेको निर्णय सोमवार देखि कार्यान्वयनमा ल्याएको हो। एकल-प्रयोग प्लास्टिक झोलाहरू प्रतिबन्ध गर्ने ल्यानक्यास्टर काउन्टीमा ल्यानक्यास्टर टाउनशिप पहिलो हो।
यस अगाडि कसको, अल्दी, बीजेस जस्ता स्टोरले एक पटक मात्र प्रयोग गर्ने प्लास्टिक झोला प्रयोग गर्न छोडेको भए पनि सरकारी निकायबाट प्रतिबन्ध भने भएको थिएन।
अब सोमवार देखि, खुद्रा विक्रेताहरूले कागजका झोलाहरू शुल्क लगाएर वा नि:शुल्क उपलब्ध गराउन सक्छन्।
त्यसै गरी, खुद्रा विक्रेताहरूले ग्राहकलाई बिक्रीको क्रममा उपलब्ध गराइएका पुनः प्रयोज्य झोलाको शुल्क लिन सक्नेछन्। आफ्नै झोला ल्याउने ग्राहकलाई शुल्क लाग्दैन।
किराना पसल भित्र उत्पादन वा मासु बोक्न प्रयोग हुने पातलो झोला, घरपालुवा जनावरको पसलमा जीवित जनावरहरू राख्न प्रयोग गरिने झोला, अखबार डेलिभरी झोला र लुगा धुने वा ड्राई क्लिनर झोलालगायत केहीमा भने छुट छन्।
अमेरिकामा कयौँ राज्यहरूमा यस अगाडि नै एक पटक मात्र प्रयोग गर्ने प्लास्टिक झोला प्रतिबन्ध गरिएका छन्।
गैर नाफामुखी वातावरणीय संस्था सर्फ्रिडर फाउन्डेसनको तथ्याङ्क अनुसार २८ राज्यमा चार सय ७१ स्थानमा प्लास्टिक झोला प्रतिबन्ध छन्।
ल्यानक्यास्टर टाउनशिपले अन्य क्षेत्रमा गरिएको प्रतिबन्धको एक वर्ष अध्ययन पछि यो निर्णय गरिएको जनाएको छ। प्रतिबन्धहरूले सकारात्मक वातावरणीय प्रभाव पारेको जनाइएको छ।

















