स्टार सिटी र आयोजक फारवेष्ट सेमिफाइनलमा

धनगढी । स्टार सिटी युवा क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब एनआरएनए छैटौँ फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पाचौं दिन भएका दुई क्वाटर फाइनल खेलमा जित हात पार्दै स्टार सिटी र आयोजक फारवेष्ट सेमिफाइनलमा पुगेका हुन् ।
धनगढी रङ्गशालामा भएको पहिलो क्वाटर फाइनल खेलमा स्टार सिटी युवा क्लबले घोडाघोडी युवा क्लब सुक्खडलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेको छ । स्टार सिटीका लागि क्षितिज भण्डारीले एक मात्रै निर्णायक गोल गरे । दोस्रो हाफको ७ मिनेटमा पाइएको पेनाल्टीलाई क्षितिजले गोल गरे । निर्णायक उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।
धनगढी रङ्गशालामा भएको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लब विजयी हुदैं सेमिफाइनल पुगेको छ । पहिलो खेलमा वाई पाएको फारवेष्ट पशुपतिले पुर्नवास युनाईटेडलाई सडन डेथमा ८–७ ले हराएको हो । निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । फारवेष्टको जितमा गोलरक्षक लोकेश चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पुर्नवास युनाईटेडका दुई खेलाडीको प्रहार बचाए । उनी नै खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।
प्रतियोगिता अन्तर्गत बुधवार दुई वटा क्वाटर फाइनलका खेल हुनेछन् । तेस्रो क्वाटर फाइनलमा सुदूरपश्चिम ११ स्पोर्टस क्लब र बिएस १५ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वाटर फाइनलमा इलाईट युवा क्लब र नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश खेल्नेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रङ्गशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रङ्गशालामा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।