नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको अध्यक्षमा शाक्य निर्वाचित

राले, अमेरिका । नर्थ क्यारोलिनामा रहेको नेपालीहरुको जेठो संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी)को अध्यक्षमा डा. विकाश शाक्य निर्वाचित भएका छन् । वर्तमान महासचिव शाक्यले निकटतम प्रतिस्पर्धा डा. चिरञ्जीवि भट्टराईलाई १३९ मतान्तरले पराजित गरेका हुन् ।
शाक्यले कुल ४३६ मत प्राप्त गर्दा भट्टराईले २९७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । १ हजार २४ मतदाता रहेको संस्थामा शाक्य र भट्टराईपक्ष प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको थियो । प्यानलमा शाक्य पक्षले बाजी मारेको छ ।
जसमा शाक्य पक्षका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ददिन पाण्डेले ४२६ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धा कुलानन्द शर्माले २९९ मतमात्रै प्राप्त गरे । उपाध्यक्षमा नारायण लुँइटेलले ४३३ मत प्राप्त गर्दा प्रतिस्पर्धी रचना सुवेदी पोखरेलले २९१ मत ल्याइन् ।
यस्तै, महासचिवमा शाक्य प्यानलकी कल्पना भण्डारी ४४६ मतका साथ निर्वाचित हुँदा ऋषिराम अधिकारीले २६० मत ल्याएका थिए ।
५ जना सदस्यमा प्रियान्सु नेपाल ६१०, रमेश ओली ५२८, निभिता शर्मा ५१६ , कालिदाश भण्डारी ५१३ र तीला चौलागाई ५०१ मत ल्याएर निर्वाचित भए । निर्वाचित मध्ये प्रियान्सु मात्रै भट्टराई प्यानलकी हुन् ।
