एनएसएलमा झापाको पहिलो जित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी झापाले पहिलो जित निकालेको छ ।
मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा झापाले एफसी बुटवल लुम्बिनीलाई १–० गोलले हरायो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो । झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै झापा पाँच खेलमा छ अङ्कका साथ तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ । झापाले यसअघिका चार खेलमा एकमा हार र तीनमा बराबरी खेलेको थियो । पराजित बुटवल लुम्बिनी छ खेलमा सात अङ्कसहित तालिकाको पाँचौँ स्थानमा यथावत् छ । उसले यसअघि दुई जित, दुई हार र एक बराबरी खेलेको थियो ।
दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पाेखरा, काठमाण्डाै रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।
२०७८ सालमा भएकाे फ्रेन्चाइज लिगकाे पहिलाे संस्करणकाे उपाधि काठमाण्डाैले जितेकाे थियाे ।
















