एनआरएन वद्री समूहले भूकम्प पीडित राहत कोषमा १० लाख जम्मा गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको वद्री केसी समूहले जाजरकोट केन्द्रविन्दू भएर गएको भूकम्प प्रभावितका लागि सरकारले बनाएको राहत कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।
संघका अध्यक्ष डा. वद्री केसी र गौरीराज जोशीले शनिबार एक विज्ञप्ति जारी गर्दै जाजरकोट भूकम्पका कारण भएको धनजनको क्षति प्रति दुःख पनि व्यक्त गरेका छन् ।
साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामन गर्दै तत्काल पहिलो चरणमा सरकारी राहत कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने पनि जनाएका छन् ।
यसैगरी भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह पनि गरेका छन् ।
