एनआरएन अफिसको चाबी बद्री केसीसँग

काठमाडौँ । गत अक्टोबर १९ तारिखमा गरिएको निर्वाचन धाँधली भएको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद थप बल्झिदै गएको छ । भेरो भोटिङको नतिजा सार्वजनिक गर्दा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट गरिएको मतदानको परिणाम सून्य देखाइएपछि विवाद सुरु भएको थियो । विवाद समाधानका लागि छानविन गर्ने सहमति भए पनि त्यस विपरित हतार हतार कार्यकारी अध्यक्ष समेत रहेका डा. बद्री केसीले सपथ ग्रहण र पदभार ग्रहण गरे पछि आरके शर्मा र महेशकुमार श्रेष्ठ पक्षले आरकेको अध्यक्षतामा समानान्तर समिति गठन गरेको थियो ।
समानान्तररुपमा गठन गरिएको समितिले परराष्ट्र मन्त्रालयमा आधिकारिकताको दावी गर्दै निवेदन दर्ता गरि सकेको छ । २१२३ नम्बरमा दर्ता भएको निवेदनसाथ आवश्यक पर्ने थप कागजात आइतबार बुझाएको छ । उक्त कागजात बुझेपछि परराष्ट्रको एनआरएनए महाशाखा प्रमुख अमृत कुमार राईले आवश्यक प्रक्रिया अनुसार कानुनी कारबाही अघि बढ्ने बताए । दशैंको विदा भइसकेपछि अष्टमीको दिन आरके शर्मासहितको टोलीले एनआरएनएको सचिवालयमा प्रवेश गरेर पदभार ग्रहण गरेको बताएको थियो । त्यतिबेला कार्यालय विदा भइसकेको र सचिवालयको तल्लो गेट खुला हुने भएकाले सहजै लविसम्म पुगेर लविमै पत्रकारसँग कुरा गर्दै शर्माले पदबहालीका लागि आफूलाई घुम्नेकुर्सी आवश्यक नपर्ने र भुँईबाटै आएको मान्छे भएकाले भुँईमै बसेर काम गर्ने बताएका थिए । त्यसपछि दशैं विदा भयो ।
दशैं विदापछि शुक्रबार एक दिन कार्यालय समय हुँदा शर्मा पक्षले परराष्ट्र मन्त्रालयमा निवदेन दिएर सचिवालय बालुवाटार जाने बताएका थियो । तर, सिंहदरबारमै ढिला भएपछि आइतबारलाई बालुवाटार जाने समय तोकियो । शुक्रबार पनि शर्मा पक्ष पुग्ने बताइए पछि प्रहरीले सुरक्षा दिएको थियो । तर, आइतबार शर्मा पक्ष बालुवाटार पुग्दा प्रहरीको उपस्थिति भने देखिएन । सरासर लविमा पुगेर उनले एनआरएनएका सिईओ राजेन्द्र कुमार राउतलाई भेटे । अध्यक्षको कार्यकक्ष खोल्नका लागि त्यहाँ गएकाहरुले पटक पटक आग्रह गर्दा सिईओ राउतले आफूसँग चावी नभएको बताए । उनले भने, ‘पहिला हामीसँग चावी हुन्थ्यो, यो चुनाव पछि अध्यक्ष बद्री केसीले आफै लिएर जानुहुन्छ ।’
शर्मासहितको टोली पुग्दा त्यहाँ केसी पक्षका कोही पनि थिएनन् । युरोप संयोजक चिन्तामणी सापकोटाको फिंगर प्रिन्टले अध्यक्षको कार्यकक्षको बाहिरी लक खुला भए पनि चावी नै लगाएकाले भित्र जान नपाउँदा केही बेर आक्रोशित भए । उनीहरुले अध्यक्षको कार्यकक्षमा जान नपाएकाले सभाहलमा बसौं भनेर आग्रह गर्दा सिईओ राउतले सभाकक्षको पनि चावी अध्यक्ष केसीले नै लिएर गएको बताए ।
त्यस पछि शर्मा पक्षका उपाध्यक्ष गंगाधर गौतमले बद्री केसी अध्यक्ष नभई निवर्तमान भएको र उनी जवरजस्ती भेरोले बनाएको अध्यक्ष भएको भन्दै सिईओको प्रतिवाद गरे । आरके शर्माले सिईओसहित कर्मचारीहरुलाई ठाडो निर्देशन दिँदै एनआरएनएको कार्यालयको पहुँच सबैलाई हुनु पर्नेमा एक पक्षको लागि मात्रै काम नगर्न भने । यसैगरी, शर्मा समूहका महासचिव बुद्धिसागर सुवेदीले आफूहरुले बद्री केसीलाई अध्यक्षका रुपमा नचिनेको बताउँदै आफुहरु रेगुलर कार्यालय आउने भएकाले सोमबारदेखि सहज वातावरण बनाउनका लागि सिईओ राउतलाई आग्रह गरे । अध्यक्ष शर्माले एनआरएनको खाता रोक्का लागि आफूहरुले निवदेन दिइसकेकाले अब कुनै पनि कारोबार नगर्न पनि आग्रह गरे । उनले १० औं अधिवेशनका बेला (शेषा घले) बिनोद कुँवर नेतृत्वको समूह छुट्टीएर गएको जस्तो रुपमा यस पटक आफूहरुलाई नबुझ्न आग्रह गर्दै वारपार गरेर छाड्ने बताए ।
यसरी अहिले केसी पक्ष र शर्मा पक्षबीच बालुवाटारमा रहेको एनआरएनए केन्द्रीय कार्यालयमाथि नियन्त्रण कायम गर्ने विषय प्रतिष्ठाको प्रश्न बनेको देखिएको छ।