इजरायलमा मृत्यु भएका ४ जनाको शव नेपाल पुग्यो
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीहरु मध्य ४ जनाको शव नेपाल आइपुगेको छ । तीन पटकमा गरेर ४ जनाको शव नेपाल ल्याइएको हो ।
दोस्रो लटमा विहान दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान ल्याइएको थियो । यस्तै, नारायणप्रसाद न्यौपानेको शव भने गए राति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो ।
आशिष चौधरीको शव २ बजेपछि आइपुगेको हो । चारवटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदुत खनान गोडेर श्रद्धाञ्जलीका लागि पुगेका थिए ।
इजरायलस्थित नेपाली राजदूतावासले अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने जनाएको छ ।














