सुन्दर भविष्य खोज्न बिमल पनि अस्ट्रेलियामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट नियमित खेल्दै आइरहेका ५० भन्दा बढी खेलाडीहरु नेपाल छाडेर सुन्दर भविष्यको खोजिका लागि अस्ट्रेलिया प्रस्थान गरिसकेका छन् ।
कतिले अस्ट्रेलियामा राम्रो कमाई पनि गरिरहेका बेला नेपालका अर्का स्टार खेलाडी विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका हुन् । उनी शुक्रबार अस्ट्रेलिया प्रस्थान गरे ।
सन् २०१३ मा पाकिस्तानविरुद्ध डेब्यु खेलमै गोल गर्दै सनसनी मच्चाएका उनले नेपाली टिमबाट ९ गोल गरेका छन् । उनकै कप्तानीमा नेपालले साफ यु १९को उपाध २०१५ मा जितेको थियो ।
त्यसयता उमेर समूहमा उपाधि जित्न नेपाल असफल रहेको छ । नेपाल सुपर लिग (एनएसएल)को भव्य तयारी भइरहेका बेला ललितपुर एफसीका मार्की समेत रहेका विमल एक्कासी अस्ट्रेलिया प्रस्थान गरेपछि फ्रेन्चाइज टिम ललितपुर पनि अलमलमा परेको छ ।
एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदै छ ।