गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो : दुर्गा प्रसाईँ

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अभियान नेपाल बचाउका अध्यक्ष दुर्गा प्रसाईँले विदेशीहरूको योजनामा आएको गणतन्त्रको फलस्वरूप धरान काण्ड भएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईँले पहिचानको नाममा सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्ने प्रयास भएको बताए ।
उनले भने, नेपालभरि काण्ड नै काण्ड भएको छ, यो सबै गणतन्त्रले ल्याएको फल हो पाक्यो, अब खानै पर्छ सबैले कसैलाई भनेर केही पनि हुदँन् । गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो । विदेशीहरूको योजनामा ल्याइएको यो गणतन्त्र मौलाउँदै गएर फलेको फल स्वरूप पहिले पहिचानको नाममा हाम्रो सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरू गर्न लगाएर देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्दै छन् । ’
उनले देशका संघीय, प्रदेश, नगरपालिका र वडा सदस्यसमेतलाई गाडी चढ्न र पोस्नको लागि करमाथि कर बढाएको पनि बताए ।
अध्यक्ष प्रसाईँले अहिलेको अवस्थामा कसैको बहकावमा नलागी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकहरूको जीवन रक्षा र गाँस, बास, कपासको सुनिश्चितताका खातिर एक भएर उभिन आवश्यक भएको बताए ।
उनले नेपाली नागरिकहरूलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था नआउने गरी बार या पारको अन्तिम लडाई लड्न आग्रह पनि गरे ।
उनले भने, हामी केही दिन भित्रैमा आम नेपाली नागरिकको जीवन रक्षा, गाँस, बास र कपासको सुनिश्चित गर्ने तथा बैङ्क, लघुवित्त र सहकारी पीडितहरूको पीडालाई अन्त्य गर्दै दिगो आर्थिक विकास, रोजगारी, समुन्नति र शान्ति स्थापनाको लागि निर्णायक आन्दोलनको घोषणा गर्दै छौँ । र अब हुने बार या पारको अन्तिम लडाइँले हामी नेपाली नागरिकहरूलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नु पर्ने छैन । ’