विधान संशोधन गर्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निर्णय गरेको बताए ।
‘आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।’
उनले अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताएका छन् ।
माओवादीको बैठक लाइभ नहुने
नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । यसअघि सो बैठक लाइभ गर्ने भनेको माओवादीको बुधबार बिहान बसेको केन्द्रीय सचिवालय र पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो ।
बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए ।