लम्पी स्किन रोगको रोकथामबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोगको रोकथामबारे गरेका काम कारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् ।
उनले भने ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु ।’
शुक्रबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगले पशु चौपायामा विकराल रुप लिंदा पनि सरकार उदासिन बनेको आरोप लगाएका थिए ।
यस्तै नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किनले किसानहरुमा पुर्याएको ठूलो क्षतिप्रति सरकारलाई गम्भीर बन्न पनि सुझाव दिएका थिए ।
राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको बारेमा सदन संवदेनशील बन्न नसकेको बताउँदै किसानलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेकी थिइन् । ०००