निजी क्षेत्रबाट गाँजा विधेयक तयार, छिट्टै सरकारलाई बुझाइने
काठमाडौँ । आत्मनिर्भर अभियान नेपालले गाँजा व्यवसाय तथा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक बनाएको छ ।
शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर अभियान नेपालमा संस्थापक श्री गुरुङले विधेयक र अवधारणा पत्र सार्वजनिक गरेका हुन् । उक्त विधेयकको नाम “गाँजा व्यवसाय तथा खेती (व्यवस्थापन र नियमन) ऐन, २०८०” रहेको छ । उक्त विधेयक नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको पनि उनले जनाए ।
गाँजा खेतीलाई वैध गराउनुपर्छ भनेर विभिन्न समयमा संसद्मामासमेत आवाज उठेको स्मरण गर्दै उनले आफूहरूको समूहले संसद्मा पेस भएका विधेयक, गाँजा खेतीबारे अन्तर्राष्ट्रिय तहमा भएको अभ्यास र प्रयासलाई अध्ययन गरेर विधेयक तयार गरेको बताए । गाँजा खेतीमा रहेका चुनौतीहरूलाई कसरी समृद्धिमा परिणत गर्न सकिन्छ भनेर आफूहरू लागिरहेको उनको भनाई छ ।
उनले भने ‘आजभन्दा अगाडिका माननीयहरूले पनि संसद्मा पेस गर्नुभयो । तर, त्यो प्राइभेट विल थियो । त्यो प्राइभेट विलहरूलाई पनि हामीले अध्ययन गरेर, विदेशमा भएका केसहरूको स्टडी गरेर, यसमा भएका चुनौतीलाई हेरेर हाम्रो देशको समृद्धिमा कसरी परिणत गर्न सकिन्छ भनेर यसको अवधारणा पत्र बनायौँ ।’ उनले भने, ‘अवधारणा अन्तर्गत हामीले पछिल्लो समयमा नयाँ विधेयक तयार गरेका छौँ । यो विधेयक हामी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछौँ ।’
नेपाली समाजले गाँजा खेतीलाई सङ्कुचित दृष्टिकोणले हेरेको गुरुङको बुझाई छ । गाँजालाई प्रतिबन्ध लगाएर पुर्खाहरूले गल्ती गरिसकेको भन्दै उनले गाँजा खेतीबारे खुल्ला दिमागले सोच्न आवश्यक रहेको बताए । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने अवसर आएको पनि उनको भनाइ छ ।
उनले भने ‘आज हामीले जे विषयमा कुरा गर्न गइरहेका छौँ, यसलाई हाम्रो समाजले अहिलेसम्म सङ्कुचित दृष्टिकोणले हेरिरहेको छ । यसको बारेमा हामीले अहिले खुल्ला दिमागले नसोच्ने हो भने समृद्धिको बिउलाई हामीले सङ्कुचित मानसिकताले हेर्दैछौं ।’ उनले भने, ‘हाम्रा पुर्खा, हाम्रा बाउ बाजेहरूले यसलाई प्रतिबन्ध गरेर भूल गरिसकेका छन् । अब त्यसलाई फुकुवा गर्ने हामीसँग अवसर आएको छ ।’
गाँजा खेतीमा रहका चुनौतीहरूलाई सम्बोधन गरेर प्रतिफल प्राप्तिमा लाग्नु जरुरी रहेको उनको भनाइ छ । गाँजालाई वैध गराउनका लागि विभिन्न कालखण्डमा आवाज उठाउने काम भए पनि अहिलेसम्म प्रगति नभएको उनले बताए ।
किसानहरूलाई गाँजाले सबैभन्दा छिटो र सहज प्रतिफल दिन सक्ने उनको तर्क छ । उनले किसानहरूमा रहेको बाँदरदेखि रासायनिक मलसम्मको समस्यालाई गाँजा खेतीले नै सबैभन्दा चाँडो सम्बोधन गर्न सक्ने बताए । अन्तर्राष्ट्रिय बजारमा समेत गाँजामा प्रतिस्पर्धा नरहेकाले यसबाट नेपालीहरूले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उनको दाबी छ । गाँजा खेतीबाट वार्षिक २० लाख पर्यटक थप भित्र्याउन सकिने उनले बताए ।

















