तत्काल किसान परिचय पत्रको व्यवस्था गर्न सञ्जालको सरकारलाई आग्रह
काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले, तत्काल किसान वर्गीकरण सहितको किसान परिचयपत्रको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौँमा शुक्रवार पत्रकार सम्मेलन गरी सञ्जालले, किसान वर्गीकरण सहितको किसान परिचयपत्रको व्यवस्था गर्न र सो कार्डका आधारमा किसानलाई आवश्यक सुविधा उपलब्ध गराउन माग गरेको हो । लभपरेको
‘मुलुकभर पशु वस्तुमा महामारीको रूपमा फैलिएको लम्पि स्किन रोगको नियन्त्रण, रोगबाट पशु वस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी यथाशीघ्र गरियोस्, मुलुकलाई आवश्यक पर्ने रासायनिक मलको व्यवस्थित गरियोस्, किसानले सहजै प्राप्त गर्ने गरी आपूर्तिको व्यवस्था गरी मल वितरण प्रणालीलाई कडाइका साथ अनुगमन गरियोस् र गरी उक्त कार्डका आधारमा राज्यबाट किसानले पाउने सेवा सुविधाहरू सुनिश्चित गरियोस् ’ राष्ट्रिय किसान सञ्जालले भनेको छ।
राष्ट्रिय किसान सञ्जालले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघका महासचिव शम्भु दुलालले किसान आन्दोलनलाई सशक्त बनाउनु पर्ने आवश्यकताको महसुस भएकोले कृषि तथा पशुपन्छी मन्त्रीलाई ज्ञापन पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउन थालिएको बताए ।
उनले भने, ‘सबै किसान संघसंगठनको संयुक्त भूमिकाबाट देशको किसान आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने आवश्यकताको महसुस गर्दै राष्ट्रिय किसान सञ्जाललाई पूर्नगठन गरिएको छ । सञ्जालले आगामी कार्यदिशा तय गर्न कार्यशाला गोष्ठी गरी कार्य योजना सहितको रणनीति तय गर्ने छ । किसान सञ्जालले किसान र कृषि क्षेत्रका समसामयिक समस्याका विषयमा आज मिति २०८० असार २२ गते कृषि तथा पशुपन्छी मन्त्रीलाई ज्ञापन पत्र बुझाएर आफ्नो कामको पुनः सुरुवात गरेको छ ।’
उनले कृषि क्षेत्रमा संलग्न ५० प्रतिशत भन्दा बढी जनसङ्ख्या विभिन्न समस्याले गर्दा कृषि पेसा छाड्ने वा विस्थापित हुने क्रम बढ्दै गएको बताए ।
नेपाल जस्तो भूमि, जलस्रोत, जलवायु र मौसमको विविधता र ४० प्रतिशत युवा जनशक्ति भएको देश कृषि उत्पादनमा आत्मनिर्भर बन्न नसक्नु दुःखद विषय भएको पनि उनको भनाई छ ।
उनले भने, देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान र संलग्न जनसङ्ख्याको आधारलाई हेर्दा यस क्षेत्रको बजेटको अनुपात अत्यन्तै न्यून रहेको छ । नेपाल जस्तो भूमि, जलस्रोत, जलवायु र मौसमको विविधताले पूर्ण एवम् ४० प्रतिशत युवा जनशक्ति भएको देश कृषि उत्पादनमा आत्मनिर्भर पनि हुन नसक्ने अवस्था हुनु दुःखद विषय हो ।
उनले देशको कृषि क्षेत्रको वर्तमान अवस्थालाई हेर्दा परम्परागत निर्वाहमुखी खेती प्रणालीबाट आधुनिक, व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख सङ्क्रमणकालीन अवस्थामा रहेको बताए ।

















