थ्रेड सार्वजनिक पछि एलन मस्क र मार्क जुकरबर्ग मार्सल आर्टका लागि आमने सामने
काठमाडौँ । एलन मस्क र मार्क जुकरबर्ग दुवै विश्वका सर्वाधिक धनी र सफल व्यवसायी हुन् । जुकरबर्ग फेसबुक र इन्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा राज गर्छन् भने मस्क टेस्लाका मालिक र ट्विटर किनेर चर्चामा आएका छन् । तर अहिले यी दुवै मिक्स मार्सल आर्ट फाइटका लागि आमने सामने हुने अवस्थामा पुगेका छन् ।
एलन मस्क ले कुस्ती खेल्न चुनौती दिएपछि मार्क जुकरबर्गले सन् २०१२ यता पहिलो पटक ट्विट गरेका छन् ।
ट्विटर लाई प्रतिस्पर्धा गर्न सामाजिक सञ्जाल थ्रेड सार्वजनिक गरेको केही घण्टामा सिइओ जुकरबर्गले दशक लामो अवधिपछि पहिलो पटक ट्विट गरेका हुन् ।
उनले बिहीबार एलन मस्कलाई लक्षित गर्दै स्पाइडर म्यान आपसमा भिडिरहेको मिम शेयर गरेका छन् । ट्विटरको पोस्टमा भने कुनै क्याप्सन राखिएको छैन । यसलाई ट्विटर र थ्रेडबीचको प्रतिस्पर्धा सुरु भएको घोषणाको रूपमा समेत लिन थालिएको छ ।
मङ्गलवार जुकरबर्गले ट्विटर सिद्ध्याउने गरी प्रतिस्पर्धीको रूपमा थ्रेड उतारेका थिए । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रूपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।
खास तवरमा थ्रेड ट्विटर जस्तै छ । एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई तपाईँले रि पोस्ट गर्न सक्नु र त्यसमा कमेन्ट गर्न हुन्छ ।
हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित ५ सय क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ ।
यो एपमा तस्बिर, सर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ । “यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्,“ थ्रेड सार्वजनिक भएपछि एक पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, “ट्विटर सङ्ग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामी त्यो गर्नेछौँ ।“
यो एप प्रारम्भिक चरणमा विश्वका १ सय देशमा उपलब्ध भए पनि युरोपमा भने छैन ।















