बाघको छाला र हड्डीसहित चार जना पक्राउ
बाँके । बाँकेको कोहलपुरबाट पाटे बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटी काँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्च देवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बार कोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।
लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ बाट पाटे बाघको १ थान छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनाबारे डिभिजन वन कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।














