मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको दावी गरेका छन् ।
बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले संसद अवरोध गरेर ऐन रोक्ने तयारी गरिएको आरोप लगाए ।
प्रधानमन्त्रीले दाहालले भने “मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियोे। कतिपय दललाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छ। भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ।“
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको पनि बताए । उनले भने “विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ। सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।“