मन्त्री र सांसदको सुविधा कटौति गर्न सांसद पाण्डेको अर्थमन्त्रीलाई सुझाव
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डेले, कर्मचारीको मात्रै नभई मन्त्री र सांसदको पनि सुविधा कटौति गर्नु पर्ने प्रस्ताव गरेका छन् ।
आर्थिक वर्ष २०८०—८१ को बजेटमाथिको छलफलमा भाग दिँदै उनले तल्लो तहका कर्मचारीको सेवा सुविधा कटौति गरेर मात्रै राम्रो सन्देश नजाने उनको भनाई छ । ‘बैठक खर्च भनेर लिने गर्छौ दिनको १ हजार किन लिने त्यसमा कर काटिन्छ । हामी यही कामको लागि भनेर यहाँ आएका छौ ? काठमाडौंमा घर हुने सांसदको घर मर्मत सम्भार खर्च भनेर महिनावारी ९ हजार दिने गरेको छ त्यो किन लिनुपर्यो ।’ उनले भने ‘यस्ता कुरा काट्ने आँट गर्नु पर्छ अनि तपाईले सुधारका कुराहरुलाई सच्याउन सक्नुहुन्छ । कर्मचारीको मात्रै कटौति गरे भन्ने कुराले यो राम्रो सन्देश दिदैन ।’
त्यस्तै उनले विद्युतीय सवारी साधनमाथि थप कर लगाउने विषय गम्भिर भएको भन्दै आपत्ति जनाए । सार्वजनिक विद्युतीय सवारी साधनमाथि थप कर लगाउने विषय गम्भिर भएको भन्दै उनले ठुलो संख्यामा सवारी साधान भित्र्याएर मात्रै थप कर लगाइएको भन्ने विषय सतहमा आएको भन्दै त्यो क्षम्य नहुने उनले बताए ।











