प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हिसाबमा उपलब्धिविहीनः लालबाबु पण्डित
काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रधानमन्त्रीको भारत भ्रमण व्यक्तिगत रुपमा गौरव लागेपनि राष्ट्रिय हिसाबमा कुनै उपलब्धि नभएको बताएका छन् ।
एमाले निकट युवासंघले नागरिकता विधेयक विरुद्ध गरेको प्रदर्शनमा उनले खुद्रा विषयवस्तुलाई उठाएर देशको लागि कुनैपनि उपलब्धि हासिल नभएको बताए ।
उनले भने, खुद्रा विषयवस्तुलाई उठाएर जुन उपलब्धि भयो भन्नु भएको छ । व्यक्तिगत रुपमा उहाँको भ्रमण गौरव लाग्न सक्छ तर राष्ट्रिय हिसाबमा राष्ट्रको समस्या समाधान हुने कुनै कुरा नभएको हुनाले हाम्रो आपत्ति छ । ’
उनले भारतको संसद भवनमा अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको विषयमा पनि प्रधानमन्त्री केही नबोलेको भन्दै आपत्ति जनाए ।
उनले भने, सीमा समस्या, कालापानी, लिपु लेकलगायतका विषय उठाउनु पर्ने राष्ट्रिय मुद्दा उठाएको छैन्, भारतको संसद भवनमा अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको छ त्यसको बारेमा केही बोल्नु भएन् । ’
पूर्व मन्त्री समेत रहेका पण्डितले पूर्व राष्ट्रपतिले सुझावसहित फिर्ता पठाएको विधेयक नयाँ चुनावपश्चात संसदलाई जानकारी नगरी नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित गर्ने काम राष्ट्रपक्ष नभएको बताए ।