श्रमजीवी पत्रकारले उचित तलब पाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरुले उचित पारिश्रमिक पाउनुपर्ने बताएकी छिन् ।
आईतवार न्यूनतम पारिश्रमिक निर्धारण समितिले तयार गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी सिफारिस प्रतिवेदन ग्रहण गर्दै उनले हरेक क्षेत्रका श्रमजीवीहरुले आफ्नो जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक पाउनुपर्ने बताएकी हुन् ।
उनले भनिन् ‘श्रमजीवी पत्रकारहरुले उचित तलब पाउनुुपर्छ भन्नेमा सञ्चार मन्त्रालय सकारात्मक छ । यसमा कसरी अगाडि बढ्नेमा मन्त्रालयले गृहकार्य गर्नेछ ।’
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा केही समस्या रहेको उल्लेख गर्दै उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर रहेको बताईन् ।मन्त्री शर्माले सरकाले पछिल्लो समय विज्ञापन नियमावली संशोधन गरेर विज्ञापनवापतको रकमसम्बन्धि चुहावट रोकेर सबै रकम मिडियासम्म पुर्याउने प्रावधान बनाउन खोजिएको जानकारी दिईन् ।
उनले भनिन ‘ रकम काटेको होइन तर चालु आर्थिक वर्षमा छुट्याएको बजेट डेढ महिनाका लागि नपुगेको साँचो हो तर अपुग पैसा थप गर्नका लागि सञ्चार मन्त्रालयले जेठ १ गते नै अर्थमन्त्रालयमा माग गरेर पठाएको छ । लोककल्याणकारी विज्ञापन नै रोक्ने गरी सरकार जाँदैन ।’