नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कावाही गर्न प्रजातान्त्रिक विचार समाजको माग
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई निर्मम ढंगले कारवाही गर्न जोडदार माग गरेको छ ।
संस्थाको राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी गराउन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजले राज्य संरचना र अधिकारीहरु नै संलग्न राज्यद्रोहकै स्तरका यस्ता अपराधमा जोडिएका जोकोहिमाथि पनि निर्मम ढंगले कारवाही गर्न जोडदार माग गरेको हो ।
जतिसुकै ओहोदामा भएपनि अपराध गर्नेलाई सोहि अनुसारको व्यवहार र दण्ड बिना भेदभाव दिईनुपर्ने समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बताउनुभयो ।
उहाले अन्तराष्ट्रिय संगठित अपराधमा संलग्न रहेका राजद्रोहीहरुलाई बिभिन्न बहानामा जोगाउने , मुद्दा कमजोर बनाउने वा राजनीतिक तहलाई जोगाएर केहि व्यक्तिलाई कठघरामा पुराएर घटना सामसुम बनाउने षडयन्त्रको गन्ध आइरहेको बताउनुभयो ।
त्यस्तै केसीले समाजको २५ औं केन्द्रीय साधारणसभा एवं १२ औं राष्ट्रिय महाधिवेशन जेष्ठ ३ र ४ गते काठमाडौंमा हुने र समाजको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनुभयो ।
महाधिवेशनका क्रममा यस बर्ष लोकतान्त्रिक योद्धा सम्मानबाट डा सुरेश मल्ललाई सम्मान गर्ने निर्णय भएको समाजले जनाएको छ ।