अमेरिकाको नर्थ क्यारोलिनामा नेपाल परेड डे सम्पन्न

कृष्णराज खनाल /
नर्थ क्यारोलिना, अमेरिका । नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार नेपाल परेड डे सम्पन्न भएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा नर्थ क्यारोलिनामा गरिएको परेड डे को यो सातौँ संस्करण हो ।
सो परेडको नर्थ क्यारोलिनाको तल्लो सदन हाउसकी सदस्य मारिया सेरभानिया र मोरिसभिल टाउन प्रमुख टीजे काउलीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
सो परेड डे का अवसरमा ससाना भाइबहिनीहरुले सुन्दर देश नेपाल, नाकैमा फूली, जहाँ छन् बुद्धका आँखा, चरी जस्तै उड्न पाए, जसो गर जे गर, घर हाम्रो नेपाल, चोली राम्रो पाल्पाली, रातो र चन्द्र सूर्य जस्ता एकल तथा सामूहिक नृत्य सम्पन्न भएको थियो ।
सो अवसरमा नेपाललाई चिनाउने साँस्कृतिक झलक, नेपाली चर्चित लोक गीत र संगीत, पर्चा पम्प्लेट, नेपाली स्टल र मनोरञ्जनका विभिन्न साधनहरुले ससाना बालबालिकादेखि बृद्धबृद्धासम्म रमेका देखिन्थे । सो अवसरमा नेपाली नयाँवर्षको शुभकामना आदान प्रदान पनि गरिएको थियो ।

नेपालीहरुको बाक्लो वस्ती रहेको मोरिसभिलमा शनिवार बिहान १० बजेदेखि साँझ चार बजेसम्म सञ्चालन भएको सो परेडमा करिब पाँच सय नेपालीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा नर्थ क्यारोलिनाका स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

नर्थ क्यारोलिनास्थित नेपालीहरुको संस्था एनसीएनसी (नेपाल सेन्टर फर नर्थ क्यारोलिना) को आयोजनामा सम्पन्न सो कार्यक्रममा स्थानीय प्रतिनिधिहरुले नेपालको बारेमा आफूले धेरै कुरा सुनेको र कुनै दिन नेपाल जान मन लागेको बताउँदै नर्थ क्यारोलिनामा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल र अमेरिकाबीच आपसी सम्बन्ध अझ प्रगाढ हुने कुरामा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा मोरिसभिलका स्थानीय प्रतिनिधि स्टिभ राव, मार्क स्टोल्हाम, टि लिज जोन्सन र इलेन मार्सल लगायतले नेपाल डे को सफलताको कामना गर्दै दुई देशबीचको मित्रता र यस क्षेत्रमा नेपालीहरुले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । उक्त अवसरमा अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीको मन्तव्य पनि पढेर सुनाइएको थियो । उक्त अवसरमा एनआरएनका केन्द्रीय महासचिव डा. केशव पौडेलले यस्ता सांस्कृतिक कार्यक्रमले नेपालसँग जोडिन र यसको प्रवर्धन गर्न सहयोग मिल्ने कुराको जानकारी दिनुभयो ।
नेपाल परेड डेको बारेमा संक्षिप्त चर्चा गर्र्र्दै आयोजक कमिटीका अध्यक्ष वटु शर्माले नेपाल विविध कुराले अग्रणी रहेको र आरटीपी क्षेत्रमा नेपालीले ठूलो योगदान गरेको जानकारी दिनुभयो । उहाँले नेपाल विभिन्न जातजाति, भाषाभाषी र विविधि सांस्कृतिक सम्पदाले धनी रहेको कुराको जानकारी पनि दिनुभएको थियो ।
सो अवसरमा एनसीएनसीका अध्यक्ष आरपी (रामप्रसाद) पौडेलले धन्यवाद ज्ञापन गर्ने क्रममा साँस्कृतिक कार्यक्रम नेपालीहरुको परिचय भएको र यस्ता कार्यक्रममा नेपालीहरुको सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्र्दै मोरिसभिलमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको र यसले महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।
कमिटीका सचिव विकास शाक्यले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान बजाइएको थियो ।