बुबाको पहिचान नभए मावली थरमा जन्मदर्ता गर्ने परिपत्रमा सांसदहरूको आपत्ति : आमाकै थरबाट नागरिकता दिने व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले, एकल महिलाबाट जन्मेको बच्चाले मावलीको भन्दा आमाको थरबाट जन्मदर्ता गर्ने तथा नागरिकता पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोलेका कतिपय सांसदहरुले हालै सरकारले जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई बाबुको ठेगान नभएमा मावलीको थर राखी जन्मदर्ता गर्न दिने व्यवस्थाप्रति असहमति जनाएका हुन् ।
एकल महिलाबाट जन्मिएको बच्चाले आमाकै थरबाट जन्मदर्ता गर्न पाउनुपर्ने व्यवस्था गर्न उनीहरूको माग छ ।
संसद्को शून्य समयमा बोलेका सांसद विद्या भट्टराई, सुशीला श्रेष्ठ, सुशीला थिङ लगायतले सरकारले गरेको एकल महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्ने विषयलाई लिएर चर्को असन्तुष्टि पोखे । एमाले सांसद विद्या भट्टराईले उक्त प्रावधान नेपालको संविधान विपरीत रहेको बताइन्।
उनले भनिन् ‘संवैधानिक र कानूनी व्यवस्थालाई ख्याल नगरी जारी गरिएको परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ ।’
उनले संविधान र देवानी संहिताको भाषा प्रयोग गरी पुन परिपत्र जारी गर्न सरकारसँग माग गरिन ।
अर्का सांसदद्वय सुशीला श्रेष्ठ र सुशीला थिङले पनि एकल महिलाबाट जन्मिएका बच्चाको थर मावलीको थरबाट राख्ने प्रावधानप्रति असहमति जनाउदै जारी परिपत्रमा आमाको थर कायम राख्नुपर्ने माग गरेका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय पञ्जिकरण विभागले वडा तहसम्म लागू हुने गरी गत बुधबार जारी गरेको परिपत्रमा विवाहअघि जन्म भएको तर ’पितृत्वको ठेगान नभएको’ बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने व्यवस्था गरिएको छ ।
त्यस्तै दोस्रो बुदाँमा विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने। र तेस्रोमा प्रकरण नम्बर १ र २ अनुसार जन्मदर्ता भइसकेपछि बाबुको ठेगाना पत्ता लागेको अवस्थामा उक्त जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता दर्ता गरिदिने । उल्लेख गरिएको छ ।