सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार कहिले?
काठमाडौं । मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्कारका बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्तामा आज दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको छ ।
आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बताइएको छ । लामो समय मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काममा समेत प्रभाव परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आज÷भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३–३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेका बुझिएको छ । अन्य साना दललाई एक एक मन्त्रालय दिएर सरकारमा समावेश गर्ने तयारी छ ।














