‘नयाँ वर्षको शुभ कामनाका लागि अमेरिकामा नेपाली भाषाको भिडियो प्रतियोगिता’
मेरिल्याण्ड, अमेरिका / नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा अमेरिकामा भिडियो प्रतियोगिता हुने भएको छ। बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो।
बानाले विगत लामो समय देखि नेपाली भाषा कक्षा संचालन गरिरहेको छ। तीनै विद्यार्थीहरू भिडियो प्रतियोगितामा सहभागि हुने छन्।
बानाले नेपाली नयाँ वर्ष अप्रिल १६ तारिक मनाउने तयारी गरेको छ। कार्यक्रम बिहान ११ देखि साँझ चार बजेसम्म (Celler 2, 7631 Harford Rd Parkville, MD 21234) मा हुनेछ।
प्रतियोगितामा सहभागी हुन अभिभावकहरूले आफ्ना बच्चाहरूलाई नेपालीमा विशेष सन्देश सुनाएको भिडियो पेश गर्नुपर्ने बानाले जनाएको छ।
बानाका महासचिव सागर घिमिरेका अनुसार भिडियोहरू ३० सेकेन्ड भन्दा बढी हुनुहुने छैन। यस्तै स्पष्ट उच्चारण र प्रस्तुति भिडियोमा देखाउनु पर्ने छ।
भिडियो र कार्यक्रमको लागि परम्परागत नेपाली पहिरनलाई प्रोत्साहन गरिने जनाइएको छ।
‘भाषा कक्षा शिक्षकहरूले भिडियोहरूको मूल्याङ्कन गर्नेछन् र विजेताहरू निर्धारण गर्नेछन्, जसले बानाबाट उपहारहरू प्राप्त गर्नेछन्।’ बानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्राप्त भिडियोहरु बानाको फेसबुक पेजमा पनि पोस्ट गरिने जनाइएको छ। भिडियो पठाउनको लागि अन्तिम म्याद अप्रिल २ तारिक सम्म तोकिएको छ।
अभिभावकहरूले info@banaonline.org मा आफ्नो बालबालिकाको भिडियोहरू पठाउन सक्ने छन्।
यसै बीच बानाका अध्यक्ष सुबोध बिलास पन्तका अनुसार सोही कार्यक्रममा नेपाल र अमेरिकाको झण्डा स्थापना गरिने छ।
‘अमेरिकामा रहेका नेपाली समुदायमा एकताको प्रवर्द्धन गर्न बानाको कार्यालय अगाडि नेपाली र अमेरिकी झण्डा स्थापना गर्ने कार्यक्रम राखिएको छ।’ बाना अध्यक्ष पन्तले भने।