रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले गला भरी माला लगाउने नेता रहुन्जेल देश विकासको कल्पना गर्न नसकिने टिप्पणी गरेका छन् ।
मङ्गलवार ललितपुरमा आयोजित नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमितिको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गदै उनले जवान युवाहरूलाई खाडीतिर पठाउने र उनीहरूले नै पठाएको रेमिटेन्सबाट माला आयात गरेर गला भरी लगाउने नेताहरू भएसम्म देश बन्न नसक्ने टिप्पणी गरेका हुन् ।
उनले भने ‘नौ जवान युवाहरूलाई खाडीतिर पठाउने उनीहरूले नै पठाएको रेमिटेन्सबाट माला आयात गरेर गला भरी माला लगाउने नेताहरू भएसम्म कसरी बन्छ देश ? देश बरबाद भयो झन्डै श्रीलङका, पाकिस्तान जस्तो हुने हो कि त्यति भन्न नेता बन्ने हो ?यति भन्न त एउटा विद्यार्थीलाई उठेर भन बाबु भने भनिहाल्छ नि । मुलुक चलाउन पहिला प्रधानमन्त्री सुध्रिनुपर्छ त्यसपछि मन्त्रीहरू ठिक हुनुपर्छ । एउटा प्रधानाध्यापक बिग्रियो भने विद्यालय बिग्रिन्छ । ’
मुलुक चलाउन पहिला प्रधानमन्त्री र मन्त्रीहरू सुध्रिनुपर्ने उनको भनाई छ । एउटा नेता बिग्रियो भने पूरै देश बिग्रिने भन्दै मुलुकलाई छिटो रूपान्तरण गर्छौ भन्नेहरू पहिला आफू परिवर्तन हुन आवश्यक रहेको उनले बताए ।














