‘विदेशमा अलपत्र श्रमिक महिलाका समस्या समाधान गर्छौं’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताएका छन् ।
बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गैरकानुनी वाटोबाट महिलाहरु विदेश जाँदा अलपत्र परेका घटनाहरु आएको बताउँदै समस्या समाधानका लागि विशेष संयन्त्र निर्माण गर्ने योजनामा आफू रहेको जानकारी दिए । यसैगरी निजी क्षेत्रमा कार्यरत महिलाहरुलाई समेत अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिलाई कडाईका साथ लागु गरिने उनले स्पष्ट पारे ।
त्यस्तै महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गरिने बताए । पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिने पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गरे । प्रधानमनत्री दाहालले सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने पनि बताए ।
प्रधानमन्त्री दाहालले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए ।